२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाँच महिना लामो लकडाउन पछि भदौ १ गतेदेखि उडान सुरु हुँदै

Logo
प्रकाशित बुधबार, साउन २१, २०७७

एबिसी संचार काठमाडौं यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ । यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताउनुभयो ।
नियमित उडान सुरु भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महìवपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो ।
उडानमा कटौती
भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ । ‘उदाहरणका लागि कतार एयरलाइन्सलाई दैनिक चारओटा उडान अनुमति दिइएकोमा अब भने एउटा मात्र दिइने छ’ उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करिब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने उहाँले स्पष्ट पार्नुभयो ।
आन्तरिक विमानस्थलको टर्मिनलमा एक घण्टामा बढीमा तीन सय यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
यसरी सञ्चालन हुनेछ विमानस्थल
नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुनेछ ।
आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा तीन सय यात्रुलाई सेवा दिने गरी व्यवस्थापन गरिने भएको छ । पहिलो हप्ताका लागि टर्मिनलको निर्धारित दायरा प्रतिघण्टा तीन सय यात्रुभित्र रही प्राधिकरणसँग सेड्युल माग गर्ने अर्को सहमति भएको छ । काउन्टरबाट यात्रुलाई चेकजाँच गरेपछि सम्बन्धित वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट छिटोभन्दा छिटो उडान आफ्नो यात्रुलाई हवाई जहाजतर्फ प्रस्थान गराउनुपर्नेछ ।
कुनै प्राविधिक वा मौसमको कारण ढिलाइ भएमा यात्रुलाई बस, जहाज वा ह्याङ्गरमा उपयुक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ । यस्तो व्यवस्था भदौ पहिलो हप्ताका लागि लागूू गर्ने र त्यसका आधारमा भदौ ५ गते अर्को बैठक बसेर थप निर्णय गर्ने दुई पक्षबीच सहमति भएको छ ।
एक दर्जनले मागे अनुमति
भदौ १ गतेदेखि नियमित उडानको घोषणा भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका एक दर्जन वायुसेवा कम्पनीले अहिलेसम्म उडान अनुमति मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म टर्किस, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सलाम एयर, एयर अरेबिया, चाइना साउदर्न, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो, इन्डिगो, जजिरा, फ्लाई दुबईले उडान अनुमति मागेका छन् ।
बन्दाबन्दीमै निर्माण
नियमित उडान प्रतिबन्ध रहेको बन्दाबन्दीको अवस्थामा विमानस्थल निर्माणको काम भने रोकिएन । विशेष गरी अन्तर्राष्ट्रिय उडानको एकमात्र आधारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा निर्माणका काममा यसबीचमा महìवपूर्ण सफलता हासिल भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उक्त विमानस्थलको दक्षिणतर्फ दुईओटा वाइडबडी पार्किङ गर्न मिल्ने गरी एप्रोन निर्माण, दक्षिणतर्फ थप तीन सय मिटर धावन मार्ग निर्माण, अन्तर्राष्ट्रिय प्रस्थानतर्फ नयाँ टर्मिनल भवन निर्माण, अन्तर्राष्ट्रियतर्फ प्रस्थान कक्षको टिकेटिङतर्फ एक्स–रे र ब्यागेज ह्यान्डलिङ बेल्ट, आगमन कक्षतर्फ नयाँ कक्षको निर्माण बन्दाबन्दीकै अवधिमा सम्पन्न भयो ।
समानान्तर ट्याक्सी वे निर्माणका लागि एसियाली विकास बैङ्कसँग सम्झौता, उत्तरतर्फ पार्किङ क्षेत्र विस्तारको ठेक्का लगाउने, सोही विमानस्थलको आन्तरिकतर्फ पार्किङस्थल तथा ट्याक्सी वेमा कालोपत्रे स्तरीकरण, सुरक्षा तथा स्वास्थ्य सावधानीका लागि मार्किङ गर्नेजस्ता काम पनि यही बीचमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ । लकडाउनकै अवधिमा नियमित काम हुँदा नियमित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ६२ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । निर्माणको अन्तिम अवस्थामा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उपकरण आपूर्ति रोकिँदा केही समस्या भने देखिएको छ । बन्दाबन्दीकै समयमा भरतपुर, बैतडी, धनगढी, डोटी विमानस्थलको रन वे ट्याक्सी वे एप्रोन कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । बझाङ र मसिनेचौरमा एप्रोन निर्माणको काम जारी छ । अर्घाखाँची, बलेवा, ताप्लेजुङमा माटो काट्ने काम पनि सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
सकेसम्म सुरक्षित राख्ने गरी तयारी भइरहेको छ। गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।