१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

घोराही उपमहानगरपालिकाले गल्ती स्विकार्दै पहुँचका आधारमा स्वाब संकलन

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

ABC Sanchar
घोराही उमहानगरपालिका वडा नम्बर १८ महदेवाका बिनोद पोख्रेल बिरामी परेर घोराहीस्थित दीप ज्योती अस्पतालमा भर्ना भए। दिसाबाट रगत जाने समस्याले ग्रस्त बिनोदको अस्पताल भर्ना भएको दुई दिनसम्म स्वास्थ्यमा खासै सुधार आउन सकेन। अन्ततः परिवारले उनलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गर्यो। काठमाडौँ प्रवेशका लागि पिसिआर रिपोर्ट (नेगेटिभ) अनिवार्य रहेकाले बिनोदको कोरोना जाँचको प्रकृयामा परिवार लाग्यो।
फलस्वरुप घोराही उपमहनगरपालिका वडा नम्बर १५ भरतपुरस्थित पद्मोदय नमुना माविमा स्थापना गरिएको स्वाब संकलन केन्द्रमा उनको नाम टिपाइयो। बिरामीको अवस्था गम्भीर रहेकाले जति सक्यो चाँडो कोरोना परीक्षण गरेर काठमाडौँ पुर्याउने सोचमा पोख्रेल परिवार थियो।
बुधबार उक्त विद्यालयमा स्वाब संकलन गर्ने कार्यक्रम घोराही उपमहानगरले राखेको थियो। मध्यान्ह १२ बजेदेखि विनोदका परिवारका एक सदस्य उक्त स्वाब संकलन केन्द्रको लाईनमै बसे। झण्डै एक घण्टापछि स्वाब संकलनको पालो आएको जानकारी गराइयो। अस्पतालमा रगत चढाईरहेका बिनोदलाई स्वाब संकलनका लागि सलाईनपानीसहित जेनतेन पुर्याइयो। पालो आईसकेको भनेर स्वाब संकलनका लागि बोलाइएका बिनोदको स्वाब संकलनका लागि मतलबै गरिएन। रगत चढाउनु पर्ने बिरामी बिनोदको रगत अभावमा स्वास्थ्य अवस्था थप जटिल बन्न थाल्यो।
गम्भीर अवस्थाका बिनोद छट्पटाउन थालेपछि त्यहाँबाट पुनः अस्पताल लैजान बाध्य हुनु परेको पोख्रेल परिवारले जनाएको छ। ‘हामीहरुले भनसुन गर्यौँ, बिरामीको अवस्था क्रिटिकल छ भनेर,’ बिनोदका छोरा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले भने ‘तर बुवाको स्वाब लिने पालो आएन, त्यसमाथि बुवाको स्वास्थ्य अवस्था गम्भीर बन्न थालेपछि स्वाब नदिएरै अस्पताल फिर्ता लग्यौँ।’
स्वाब संकलनका लागि पालो आईसकेको भनेर बोलाइएका बिनोदको स्वाब लिइएन, तर त्यहाँ खटिएका केहि स्वास्थ्य कर्मचारीहरुले आफ्नाहरुलाई फोनमा बोलाएर स्वाब संकलन गरिरहेका थिए। स्वाब संकलनको पालो मिचेर अन्यलाई बोलाउँदासम्म पनि त्यहाँ खटिएको स्वाब संकलन टोलीले बिरामी बिनोदलाई देख्न सकेन, वा चाहेन। परिवारले बिरामीको अवस्था गम्भीर बन्दै गएको भन्दै स्वाब संकलनका लागि अनुनय गर्यो। तर स्वाब संकलनमा खटिएकाहरुका आफ्ना आफन्तीहरुको मात्रै लाईन लागि रह्यो, बिनोद नजिकै गम्भीर अवस्थामा पालो कुरिरहे मात्रै।
‘अस्पतालमा भर्ना गरि शरीरमा रगत दिँदै गरेका गम्भीर अवस्थाका बुवालाई म आफैले त्यहाँ पुर्याएको थिएँ,’ बिनोदका छोरा बिपुलले फेसबुकमा लेखेका छन् ‘अहिलेलाई यत्ति भन्छु त्यहाँ स्वाब लिईएन।’ उनले नियत र व्यवस्थापकीय दुबै कमजोरीका कारण आफ्नो बुवाको स्वाब संकलन हुन नसकेको उल्लेख गरेका छन्।
उपमहानगरले सञ्चालन गरेको स्वाब संकलन केन्द्रमा स्वाब नलिईएपछि पोख्रेल परिवारले तत्कालै बिनोदलाई काठमाडौँ पुर्याउने योजना तुहियो। बिनोदको स्वाब बिहीबार विहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिईयो। तर सशूल्क। ‘स्थानीय सरकारले स्वाब लिन अस्वीकार गरिदियो, त्यो पनि गम्भीर अवस्थाका बिरामीको स्वास्थ्य अवस्था प्रति कुनै मानवीयता प्रकट भएन,’ पोख्रेल परिवारका एक सदस्यले भने ‘बिहीबार बिहान प्रतिष्ठानमा शूल्क तिरेर स्वाब दिएका छौँ, हेरौँ रिपोर्ट के आउँछ?, तर बुधबारै स्वाब लिइएको भए रिपोर्ट चाँडो आउने थियो, हामीले बिरामीलाई चाँडो काठमाडौँ पुर्याउन सक्थ्यौँ।’
गम्भीर बिरामीलाई स्वाबका लागि पालो अनुसार पुर्याउँदा पनि किन स्वाब लिईएन? घोराही उपमहानगरले गल्ती स्वीकार्दै भन्छ, ‘काम गर्दा कहिलेकाँही गल्ती हुन जान्छ।’ उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले पालो आएर स्वाब संकलनका लागि बोलाइएका गम्भीर बिरामीको स्वाब संकल नै नगरेर फिर्ता जानु पर्ने स्थिती दुःखद भएको बताउँछन्। ‘त्यसो नहुनु पर्ने हो, जे भयो दुःखद भयो,’ उनले भने ‘तर धेरैजनाको स्वाब संकलनको व्यवस्थापन गर्दा समस्या आउने गर्दछ।’
घोराही उपमहानगरपालिकाले एक गम्भीर बिरामीको स्वाब संकलन नगरेर बिरामीको जीवनमाथि खेलवाड गरेको भन्दै आलोचना भैरहेको छ। तर, यो घटना मात्रै नभई धेरै नागरिकहरुले स्वाब दिन नपाएर फर्किने गरेका घटनाहरु हुन सक्ने शंका यो घटनाले चुलिएको छ। ‘यो घटना मात्रै बाहिर आयो, तर यस्ता घटनाहरु आमनागरिकको जीवनमा नभएको भन्ने ठाउँ रहेन,’ घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले भने ‘कतिपय नागरिकहरु स्वाब संकलन गर्न नपाएर चुपचाप घर फर्कनु परेका घटनाहरु नहोलान् भन्न सकिन्न।’
उनले सिकिस्त बिरामीको स्वाबै संकलन नगरिदिनु ज्यादै अमानवीय कार्य भएको भन्दै थपे ‘त्यहाँ ठूलो बद्मासी भयो, केहि खराव नियत राख्नेहरुको गलत मनसायले दुःखद घटना हुन पुगेको हो।’ वडाध्यक्ष पाण्डेले स्वाब संकलनमा खटिएकाहरुको नियत र व्यवस्थापकीय दुबै कमजोरीका कारण यो घटना निम्तीएको वताए। उनले भने ‘आगामी दिनमा यस्ता कमजोरीलाई सच्याउनु पर्छ, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन। सभार नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।