०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

काठमाडौंमा कोरोना संक्रमित बढ्यै पछी आईसीयूमा बेड नहुँदा इमरजेन्सीमा राखेर उपचार गर्दै

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC Sanchar
काठमाडौं संघीय राजधानी काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ ।
हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने, ‘शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।’
अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ ।
उनका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए । उनले भने, ‘लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।’
उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा राजभण्डारीले बताए । उनका अनुसार अस्पतालले केही शैया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन ।
अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शैया, चार आइसियु र एक भेन्टिलेटर थप गर्न लागिएको उनले बताए । उनले भने, ‘हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।’
अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताए । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उनको भनाइ छ ।
कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उनको भनाइ छ । उनले भने, ‘कतिपय सिरियस बिरामीलाई पनि बेड मिलाउनै नसक्दा अरु अस्पतालमा लैजानुहोस् भन्दा हामीलाई पनि राम्रो लाग्दैन ।’
एकातिर अस्पतालका सबै शैयामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उनले बताए । अस्पतालमा अहिले तालीमप्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एकजना नै तोकिएको मान्छे राख्नुपर्ने उनले बताए ।
एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक सिफ्टका लागि फरकफरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्को कर्मचारी खटाउनुपर्छ । उनले भने, ‘सबै कुरा मिलाएर गर्न अहिले सजिलो अवस्था छैन ।’
नेपालमा कोभिड–१९ को सङक्रमण शुरु भएसँगै यो अस्पतालमा परीक्षणका लागि आउनेको पनि भीड छ । कहिले घरबेटीले घरमा फर्कन नदिएकाले त कहिले कार्यालयमा जानका लागि नागरिक परीक्षणका लागि आउने गरेका छन् । अस्पतालले ‘क्राइटिएरिया’ मिलेकाको मात्रै परीक्षण गर्दै आएको छ । कोभिडसँग मिल्दा लक्षण भएका वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको परीक्षण गरिँदै आइएको उनले जानकारी दिए ।
‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिको भने वडा कार्यालयको समन्वयमा परीक्षण हुँदै आएको छ । कतिपय व्यक्ति कागजका लागि रिपोर्ट चाहिएकाले गर्न आउँदा भने पैसा तिरेर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ । उनले भने, ‘अहिले धेरै जना लोक सेवा, प्रहरीमा भर्ना हुन वा विदेश जान भन्दै परीक्षणका लागि आइरहेका छन् ।’
सरकारी अस्पताल भएकाले र सबैलाई सहज पहुँच भएकाले सङ्क्रमित यहीँ उपचारका लागि आउन चाहने धेरै छन् । आर्थिकरुपमा विपन्न व्यक्तिले विशेष गरी लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यहीँ आउने चाहेको अस्पतालले जनाएको छ ।
अस्पताल कोभिड–१९ को उपचारमा केन्द्रित हुँदा अरु किसिमका सरुवा रोगमा त्यसको असर परेको निर्देशक डा राजभण्डारीले बताए । यहाँ उपचारका लागि आउने अरु सरुवा रोगका बिरामीलाई अरु अस्पतालम सारिएको छ ।
एचआइभी एड्स, क्षयरोग, डेङ्गु, कालाजारलगायत सरुवा रोगका औषधि खाइरहेका बिरामीले अहिले यहाँबाट उपचार पाएका छैनन् । अरु सरुवा रोग लागेका व्यक्तिलाई कोभिड देखिँदा मात्रै यहाँ उपचार हुन्छ । अरु सरुवा रोगका नियमित औषधि खाइरहेका व्यक्ति, पनि जोखिम वर्गमा पर्ने उनले बताए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!