(महेन्द्र सिंह) बाँके सिक्टा सिचाइ आयोजनाका बिभिन्न काम प्याकेजमा ठेक्का लिएर सम्झौता अनुसार कार्य सम्पादन नगरेको भन्दै उक्त कम्पनीमाथि कारवाहीको चेतावनी दिएको छ ।
यसका लागि प्रक्रिया अघि बढाइसकेको आयोजनाले बताएको छ । बाँकेमा डेढ दशकदेखि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको २५ अर्बको लागतमा २०६३ देखि निर्माण कार्य थालिएको थियो । तर, निर्माण कम्पनीको लापरवाहीका कारण उक्त आयोजना अहिलेपनि पुरा हुन सकेको छैन् ।
डेढ दशकमा निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको छ । आयोजनाले शनिबार सूचना जारी गर्दै ठेक्का लिएका कम्पनीले आफ्नो व्यवसायिक ख्याति र सामाजिक प्रतिष्ठाको ख्याल नै नराखी लापरवाही गरेको उल्लेख गरेको छ ।
सात दिनभित्र सम्पर्कमा आउन आयोजनाले काठमाडौंका पप्पु कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र वीरेन्द्रनगरको अमर मजदुर जेभीलाई आग्रह गरेको छ । यदि तोकिएको मसमया समपर्कमा नआएको अवस्थामा कम्पनीलाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने आयोजनाले चेतावनी समेत दिएको छ ।
निर्माण कम्पनीहरूले सम्झौताको सर्तअनुसार काम नगरेको आयोजनाको सूचनामा उल्लेख छ । निर्धारित अवधिभित्र काम पूरा नगरे नेपाल सरकारको कारबाहीबाट हुने परिणामलाई ध्यानमा राख्न पनि कम्पनीहरूलाई भनिएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा पूरा गर्ने लक्ष्य रहेको आयोजना निर्माण कम्पनीहरूको ढिलासुस्तीकै कारण पूरा हुन नपाएको आरोप सरकारी अधिकारीहरूको छ ।
४५ दशमलव २५ किमि लामो पश्चिमी र ५३ किमिको पूर्वी नहरले बाँकेका ४२ हजार हेक्टर जमिनमा सिंचाइका लागि आयोजना निर्माण अघि बढाइएको हो । अहिलेसम्म मूल नहरकै काम पूरा हुन सकेको छैन ।