०८ चैत्र २०८१, शनिबार
22-03-2025 , Sat
×

DIG पोख्रेललाई IGP बनाउन सरकारले बाटो खोल्यो

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) का रुपमा कार्यरत विश्वराज पोख्रेल भावी प्रहरी महानिरीक्षक (आईजीपी) का रुपमा उदाएका छन्।
दुईपटक अतिरिक्त महानिरीक्षक (एआईजी) को दौडमा लागेका पोख्रेल सरकारले दरबन्दी थप गरेसँगै एआईजी हुने अब प्रायः पक्का भएको छ। जसले उनको प्रहरी महानिरीक्षक बन्ने बाटो खोल्दैछ।
पोख्रेल डीआईजी मध्येका वरिष्ठ हुन्। एसएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडी बढेका पोख्रेल केही दिनमै एक मात्र एआईजीमा बढुवा हुनेछन्।
यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोख्रेल एकमात्र बढुवामा परेका थिए। सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो।
दरबन्दी थपले भावी आईजीपीमा प्रतिस्पर्धाको बाटो बन्द भएको छ भने नेपाल प्रहरीले अनुभवी नेतृत्व पाउने भएको छ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीसँगै पोख्रेलले एआईजी बढुवामा कसरत गरेपनि अन्तिम समयमा थापा, हरि पाल र तारिणी लम्साललाई मात्रै एआईजीमा बढुवा गरिएको थियो।
त्यसो त गत असारमा निरज शाही र प्रद्युम्न कार्की एआईजी बढुवा भएपछि पोख्रेलको दोस्रो पटकको प्रयास पनि असफल भएको थियो।
सो निर्णयसँगै भावी आईजीपी डीआईजीबाट सिधै हुने र कडा प्रतिस्पर्धा हुने देखिएको थियो। जसमा सहकुल थापा र धिरजप्रताप सिंहलाई पनि सशक्त दाबेदारका रुपमा हेरिएको थियो।
एआईजीमध्येबाट आईजी बनाइने व्यवस्था अनुसार अब बन्ने एआईजी नै भावी आईजीपी हुने भएकाले विश्वराज पोख्रेलको बाटो प्रष्ट भएको हो।
हालका तीनै एआईजी आईजीपी थापाकै ब्याचका हुन्। उनीहरुले २०७९ वैशाख १९ गते अवकास लिनेछन्। हालकै व्यवस्था कायम रहे पोख्रेल झण्डै एक वर्षका लागि आईजीपी बन्ने छन्।
२०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट पोख्रेलले सेवा सुरु गरेका हुन्। त्यतिबेला पोख्रेल पाँचौं नम्बरमा थिए। एसपी बढुवासम्म आफ्नो ब्याचीमध्ये पाँचौं नम्बरमै रहेका पोख्रेलले एसएसपी बढुवामा फड्को मारेका हुन्।
२०७४ साउन २९ गते हालका आईजीपी थापाकै ब्याचीसँगै पोख्रेल एसएसपीमा बढुवा भएका थिए। त्यतिबेला दुई ब्याचका २४ जनालाई एसएसपी बढुवा गरिएकोमा पोख्रेल नवौं नम्बरमा थिए।
आफूभन्दा अघिल्लो ब्याचकालाई समेत त्यतिबेलै पोख्रेलले पछि पारे। उनीभन्दा अगाडि रहेका शैलेश थापा, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की अहिले पनि अगाडी छन् भने घनश्याम अर्याल डीआईजी बढुवामा पछि परे।
गणेशबहादुर ऐर र पुरुषोत्तम कंडेल अहिले पनि एसएसपीमै रोकिएका छन्। अरु भने एसएसपीमै उनीभन्दा तल्लो बरियतामा थिए।
तीमध्ये १० जना गत चैत २८ गते डीआईजीमा बढुवा भएका छन्। जसमध्ये अघिल्लो बरियताका चार जना आईजीपी थापासँगै २०७९ वैशाखमा अवकास हुनेछन्।
डीआईजी बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा र समग्रमा पाँचौं नम्बरमा फड्को मारेका सहकुल थापालाई पनि भावी आईजीका रुपमा हेरिएको थियो।
यस्तै भर्ती हुँदैदेखि पहिलो नम्बरमा रहेर एसपी बढुवाबाट पछि परेका धिरजप्रताप सिंह पनि संभावित आईजीका रुपमा थिए।
यी तीन मध्येबाटै आगामी आईजीपी हुने अनुमान गरिएपनि दरबन्दी थपले बाँकीको सपना पूरा नहुने देखिएको छ। अवस्था उही रहेको भएपनि पोख्रेल नै बलियो उम्मेदवार हुन्।
चार महिनापछि पूरा गर्यो सरकारले बचन
सरकारले गत असारमा नै पोख्रेललाई एआईजीमा बढुवा गर्न चाहेको थियो।
त्यतिबेला रिक्त रहेका दुई एआईजीमा पोख्रेल पर्ने लगभग पक्काजस्तो थियो। तर आईजीपी थापा यसमा तयार देखिएनन्।
निरज शाही र प्रद्युम्न कार्कीलाई नै एआईजीमा बढुवा गर्नुपर्ने अवस्था उनले प्रधानमन्त्रीलाई सुझाए।
सिंगो प्रहरी संगठनको इच्छाविपरित निर्णय नगर्ने पक्षमा अन्तिम साँझ उभिएका प्रधानमन्त्री ओलीले पोख्रेललाई त्यतिबेलै बचन दिएका थिए।
अन्य विकल्प नहुनु र सरकारको उथलपुथलले जुनसुकै बेला असर गर्ने देखिएपछि सरकार दरबन्दी थप गरेर पोख्रेललाई अहिले नै अगाडि लैजान तयार भएको हो।
यस्तै उपत्यकाका केही युनिटमा डीआईजीको दरबन्दी रहने भएकाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआईजी आवश्यक रहेको भन्दै दरबन्दी थप गरिएको छ।
सरकारको यो निर्णयले नेपाल प्रहरीले अर्को अनुभवी आईजीपी पाउने भएको छ। हाल बढुवा हुनेले डेढ वर्ष एआईजीका रुपमा काम गर्नेछन्।
यसअघि डीएसपी हुँदा बानेश्वर वृत्त प्रमुख भएका पोख्रेलले एसपी छँदा कर्मचारी प्रशासन शाखा र मोरङ प्रहरी प्रमुखको रुपमा काम गरेका छन्।
उनले एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौं र डीआईजीमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भन्सार विभागको तथ्याङ्क अनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ […]

  काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ। ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो। त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत […]

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरज प्रताप सिंहले आईजीपी दिपक थापालाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा संस्थागत सुधारका लागि सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्। नेपाल प्रहरीका वरिष्ठ अधिकारीका रूपमा लामो अनुभव हासिल गरेका थापाले नेतृत्व सम्हालेपछि प्रहरी संगठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। नेपाल प्रहरी […]

error: Content is protected !!