२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

खान र पढाइ खर्च जुटाउन (श्रम) गर्न बाध्य छन् बालबालिकाहरु

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(ABC Sanchar)
काठमाडौं बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ ।
दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्थाबाट भए पनि सामान्यतयाः रोजगारीको अनौपचारिक क्षेत्र (रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैँचा कारखाना, जरी कारखाना, इँटाभट्टा, आदि) लगायत घरेलु श्रममा पनि बालबालिकालाई संलग्न गराइएको देखिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा विभिन्न राष्ट्रिय दैनिक पत्रिका र विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित घटनामध्ये बालबालिकालाई विभिन्न काममा लगाएका २३ वटा घटनाबाट ७९ बालबालिका (बालक ५७ र बालिका २२) प्रभावित भएको राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए ।
परिषद्का अनुसार अधिकांश बालबालिका (६७ जना) पढाइ खर्च जुटाउन विभिन्न काममा संलग्न भएको र ९ जना घरेलु तथा होटलमा एवं तीन जना सार्वजनिक यातायातमा संलग्न भएको घटना सार्वजनिक भएको पाइएको छ । दश वर्ष वा सोभन्दा मुिनको १० बालबालिका समेत काममा संलग्न रहेको जानकारी रहेको छ ।
केन्द्रीय तथ्याङ्क विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा २०७६ बाट १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न भएको पाइएको छ । नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ ।
नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार एक लाख चार हजार ७१४ बालबालिका (बालक ५६ हजार २६७ र बालिका ४८ हजार ४४७) कामकाजमा संलग्न रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण, २०७१ (सन् २०१४) अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]