०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

लामो समयदेखि विद्यालय बन्द हँदा लागुऔषध कुलतमा फस्दै बालबालिकाहरु

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(ABC Sanchar)
टीकापुर विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ ।
कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन् ।
“हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ–दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्”, शिक्षक चौधरी भन्छन्, “विद्यालय बन्द भएको आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएका छन् । अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ ।”
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडाँैको तथ्याङ्कमा पोहोर अर्थात् २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन् । विसं २०७६ मा सबै उमेरका नेपालभर एक लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ता रहेका छन् ।
तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै नौ हजार छन् । लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडाँैका प्रहरी उपरीक्षक कृष्णकुमार महत बताउँछन ।
“बालबालिका गलत सङ्गतका कारण बढी कुलतमा फसेको देखिन्छ”, उनी भन्छन्, ‘‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ ।”
शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४–७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन् । यद्यपि लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन ।
बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नं ७ का वडाध्यक्ष रामलाल डगौरा थारू बताउँछन् ।
“हामीले प्रहरीसँगको साझेदारीमा विद्यालय र बस्तीस्तरमा लागुऔषधका असरबारे जानकारी दिने गरिरहेका छौँ”, उनी भन्छन्, “कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लागेका छौँ तर लकडाउनपछि गाउँमै गएर कार्यक्रम गर्न सकिएको छैन ।”
टीकापुर बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक नाथुराम चौधरी लागुऔषध प्रयोग घटाउन सीमा नाकामा जाँच बढाउने, लागुऔषधको प्रयोगबाट हुने हानी नोक्सानीबारे चेतना फैलाउने, कानूनको कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।
“बालबालिकालाई माया देखाएर सही बाटोमा हिँडाउन अभिभावकले समय दिनुपर्छ”, उपप्राध्यापक चौधरी भन्छन्, “बालबालिकाले अभिभावकको साथ नपाएर पनि बिग्रिएका भेटिन्छन्, सन्तानलाई सही बाटो देखाउन चुक्न हुँदैन, एउटा बच्चा बिग्रिए समाज बिग्रन्छ ।”
कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह पनि बढाउने गर्छ । यसरी गलत सङ्गत वा गलत बाटोमा लागेका बालबालिकालाई ‘रिह्याब सेन्टर’ अर्थात् पुनःस्थापना केन्द्रमा राख्न सकिन्छ । कैलालीको टीकापुरमा मात्र चारवटा पुनःस्थापना केन्द्र छन् ।
यसले पनि समाजमा लागुऔषध प्रयोग बढ्दो छ भन्ने देखाउँछ । टीकापुरका पुनःस्थापना केन्द्रमा विद्यालयमा पढ्ने उमेरका विद्यार्थी पनि छन् । टीकापुरका एक अभिभावक समय दिन नपाउँदा आफ्नो छोरा कुलतमा फसेको बताउँछन् ।
“म दिनभरि ज्यालादारी काम गर्थेँ, १६ वर्षमै कुलतमा फस्यो, रातिराति घर आउँथ्यो, मैले सुधार्न सकिनँ”, उनले भने, “पछि चार महिना सुधार केन्द्रमा राखेँ, अहिले छोरा सुध्रिएको छ । मैले ज्यालादारी छाडेर आमाछोरा मिलेर नास्ता पसल खोलेका छौँ । छोराछोरी आमाबाबुको समय खोज्दा रहेछन् ।”रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!