०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

अर्को साताबाट काठमाडौँ-दिल्ली उडानको लागि अनुमति

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(ABC Sanchar)
काठमाडौँ। कोभिड १९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ ।
कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।
अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ । प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय उडान घट्यो
भदौ १६ देखि नियमित रुपमा शुरु भएको अन्तर्राष्ट्रिय उडान शुरुताका दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म मात्रै उडान हुने गरेको छ । यो आगमन र प्रस्थान दुबै गरेर हो । यो सङ्ख्यामा पनि अहिले केही घटेको छ । भदौको दोस्रो साताबाट खुलेको नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुई वटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यता नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङ्कङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङ्कङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।
त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।
आन्तरिकमा उत्साहवद्र्धक उडान
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान भने उत्साहवद्र्धक रहेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले ८५ देखि ९० प्रतिशत उडान अकुपेन्सी रहेको छ । ठूला एयरलाइन्स बुद्ध, यती र श्री एयरलाइन्सको उडान अकुपेन्सी झण्डै ९० प्रतिशत रहेको सम्बन्धित कम्पनीले जनाएका छन् । बुद्धले मात्र अहिले दैनिक चार हजार ८०० सम्म यात्रु बोक्ने गरेको छ । जबकी बुद्धले सामान्य अवस्थामा दैनिक पाँच हजार ५५५ देखि ६ हजारसम्म यात्रु बोक्ने गरेको थियो । उक्त कम्पनीले अहिले दैनिक दुईतर्फी ८२ उडान गरिरहेको छ । यती एयरलाइन्स र श्री एयरलाइन्सको गन्तव्य अनुसार उडान अकुपेन्सी राम्रो रहेको जनाइएको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!