१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दलित बस्तीमा खाने पानीको हाहाकार

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७


(ABC Sanchar)
गलकोट। हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन ।
चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत चित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी पुर्याउने वाचा भने अझै पूरा हुन सकेको छैन । बागलुङ नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशक बित्दासमेत पूरा हुन सकेको छैन । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुलजस्तै बन्दै गएका छन् । हरेक हिउँदमा पानीको प्यास मेट्न नपाएको लामीचौर गाउँ चुनावी नारामा भने घरघरमै पानीका धारा आउने गरेका छन् । दुई सयभन्दा बढी घर रहेको उक्त स्थानमा दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् ।
विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ । दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा रहेका छन् । त्यही धारामा समेत बर्खाको समयमा पानी आउने र हिउँदको समयमा आक्कलझुक्कल मात्रै खानेपानी आउने गरेको स्थानीय मनबहादुर नेपालीले जानकारी दिनुभयो । रेशको बौरमुनीबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ ।
“कहिलेसम्म दलित बस्तीले खानेपानीको अभाव झेल्दै आउने”, नेपालीले भन्नुभयो, “नगरपालिकाको अन्य स्थानमा खानेपानीको पहँुच पुग्ने, हाम्रोमा किन भएन, यो त दलित माथिकै शोषण भएको छ ।” बर्खामा समेत बस्ती नजिकै रहेको कुवाबाट पानी बोक्नुपर्ने समस्या रहेको छ । हिउँदमा धारो कुर्दा र पानी बोक्दा दिन जाने गरेको स्थानीय समुदायले जनाएको छ । उपल्लो बस्तीमा आउने पानी तल्लो बस्तीमा नआउने भए पनि कसैको चासो नहुँदा वषौंँदेखि दलित बस्तीले खानेपानीको प्यास मेटाउन नपाएको स्थानीय सज्जनकुमार सिंह विश्वकर्माले दुखेसो गर्नुभयो ।
“त्यस ठाउँको सचेत नागरिक भएको नाताले धेरै पहल र प्रयास गरियो, हालसम्म सार्थकता पाउन सकेको छैन, त्यही पानी उपल्लो बस्तीमा पुग्छ, तर हाम्रो बस्तीमा आउँदैन”, विश्वकर्माले भन्नुभयो, “नयाँ स्रोतको पहिचान आवश्यक छ, छिमेकी गाउँले स्रोत नदिएपछि लिफ्टको विकल्प छैन ।” उहाँले हरेक राजनीतिकर्मीले खानेपानी खुवाउने प्रतिबद्धता गर्न थालेको मात्रै १५ वर्षभन्दा बढी भएको बताउनुभयो ।
स्थानीय निर्वाचनताका मात्रै खानेपानी ल्याउने प्रतिबद्धता थियो, यसपटकको स्थानीय निर्वाचनका पालामा खानेपानी ल्याउने भनेपछि आशा जागेको भए पनि यसपटकसमेत निर्वाचनको तीन वर्ष पुग्नै लागेको गुनासो गर्दै आएका छन् । अब अर्को चुनावमा पानीको एजेण्डा लिएर दलित बस्तीमा नछिर्न स्थानीय युवा दिलीप खातीको सुझाव छ ।
खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “नगरपालिकाभर मेरो कार्यकाल सकिँदा सबै घरमा एक घर एक धारा बनाउने अभियान छ, धेरै सङ्कटग्रस्त क्षेत्रमा खानेपानीको समस्या समाधान भइसकेको छ”, पौडेलले भन्नुभयो, “सिगाना लामीचौरको सन्र्दभमा धेरै समय लाग्यो तर आफ्नो कार्यकालभित्र घरघरमा धारा पुर्याएरै छाड्छु ।”
झण्डै रु एक करोडको लागतमा खानेपानी ल्याउने गरी डिपिआर तयार भए पनि मुहान नहुँदा सायकोटको ६५ घरमा गत वर्षनै धारा पुर्याइएको र दलित बस्तीका लागि काठेखोला गाउँपालिका–७ रेश खानीदुलोबाट लिफ्ट खानेपानीको आयोजना अगाडि बढेको लामीचौर सायकोट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार मुहान पहिचान र सम्झौता भएकाले ढिलै भए पनि खानेपानी पुर्याउन सकिने आशा व्यक्त गर्नुभयो ।
प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसके पनि अहिले आयोजनास्थलमा मोटरबाटो पुर्याउने कार्य भइरहेको र अब दलित बस्तीमा खानेपानी पुर्याउने आशा पलाएको वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । प्रदेश सरकारबाट यो वर्ष रु ११ लाख बजेट आए पनि आयोजना अगाडि बढेमा बजेटको कमी नहुने प्रदेशबाट प्रतिबद्धता आएको वडाध्यक्षको भनाइ रहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!