२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

प्रदेश नं २ मा अत्यधिक चिसोबाट ४ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

(ABC Sanchar)
केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ। केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ।

प्रदेश नं २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले राससलाई जानकारी दिए।

सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध गरेको छ ।

हालको दक्षिणी पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेकाले मौसममा खराबी आएको हो । जसले गर्दा अधिकतम तापक्रम घट्न गई चिसो बढन गएको मौसम विज्ञको भनाइ छ ।

चिसो बढेकै कारण प्रदेश नं २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ । चिसोबाट सबैभन्दा बढी बालबालिका, दमरोगबाट प्रभावित भएका वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरी घर खर्चको जोहो गर्ने मानिस प्रभावित भएका छन् । चिसोबाट प्रभावित भएका बिरामी उपचारका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको छ ।

लामो समयको शीतलहरपछि घाम लाग्दा..

धनुषा– आज एकाबिहानै झलमल्ल घाम लागेपछि धनुषा जिल्लासहित मध्य तथा पूर्वी तराई–मधेशका गाउँ÷नगरबस्तीमा खुशीयाली छाएको छ ।

विगत १० दिनदेखि बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो । यसपाली पुस महिनाको अन्तिम सातादेखि दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि लाग्दो पुसमा पनि चार दिन हुस्सुले ढाकेर चिसो स्याँठ चल्दा निकै जाडो बढेको थियो ।

पुसको अन्तिम सातादेखि बाक्लो हुस्सु लागेसँगै लगातार चिसो सिरेटो बढ्दा जाडोले कठ्याङ्ग्रिएर बस्नु परेको थियो । गत सोमबारदेखि लगातार बाक्लो हुस्सुले ढाकेर घाम नदेखिँदा बढेको चिसो आज एकाबिहानै पारिलो घाम लागेपछि जनकपुरधामसहित धनुषाका सबैजसो बजारमा ह्वात्तै चहलपहल बढेको छ ।

यसपाली पुस अन्तिम सातादेखि नै दिनदिनै चलेको शीतलहरले यहाँको जनजीवन वाक्कदिक्क नै बनेको थियो । घाम देखिनासाथ १० दिनदेखि जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न घर बाहिर निस्केका छन्् । पारिलो घाम लागेपछि स्कुले नानीहरु खुशीले दङ्ग पर्दै खेलकूद र पठनपाठनमा लागेका देखिन्छन् ।

बिहानै घाम झलमल्ल देखिएपछि अब मौसम राम्रो हुने आशमा लुगा धोएर जीविकोपार्जन गर्ने धोबी पानीघाटमा लुगा धुन थालेका छन् । ‘धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा घाम नलागेर शीतलहरको कारण घरमै थुप्रिएको थियो’, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारका लाल साफी धोबीले भन्नुभयो, “अब भने काम गर्न पाइने भयो ।”

पारिलो घाम देखिएपछि कृषि कार्यमा व्यस्तता बढेको छ भने चौपाया बस्तुभाउ खोलेर डुलाउन पशुपालक किसान लागेका छन् । अब दुई चार दिन लगातार घाम लागे तरकारीखेती गोडमेल र खेतबारी खनजोत गर्न हुने किसानको आशा छ । धनुषाको सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र क्षीरेश्वरनाथ नगरपालिका–१० दिगम्बरपुरका किसान बेचन महतोले मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत गर्न अनुकूल हुने बताउनुभयो ।

त्यसैगरी अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा गाईभैँसी र बाख्रापाठा फुकाउन वा डुलाउन पाएका छन् ।

एकाबिहानै झलमल्ल घाम

महोत्तरी । एकाबिहानै आज झलमल्ल पारिलो घाम लागेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा मौसम सुध्रने आशा बढेको छ ।

एकाबिहानै पारिलो घाम लागेपछि अब हुस्सु र चिसो स्याँठ चल्ने क्रम रोकिएर मौसम सफा हुने यस भेगमा आश बढेको हो।

यसअघि आइतबार मध्यान्हपछि दिउँसो घाम देखिएको थियो । महोत्तरीसहितका प्रदेश नं २ का सबैजसो जिल्लामा
पछिल्लोपटक गत पुस २७ गतेयता आइतबार दिउँसो पहिलो पटक घाम देखिएको थियो ।

गरिबी र अभावले जाडो छल्न सकस परेका बस्तीमा एकाबिहानै झलमल्ल घाम देखिएपछि खुुशी छाएको छ । “आइतबार दिउँसो घाम देखिए पनि चिसो बतास चलिरहेको हुँदा के होला भन्ने संशय थियो” बर्दिवास नगरपालिका–७ मनहरिपुरकी १७ वर्षीया किशोरी प्रीति खत्रीले खुशी हुँदै भने, “आज एकाबिहानै पारिलो घाम लागेपछि अब चै मौसम तात्ने विश्वास बढ्यो ।” आइतबार मध्यान्हअघि एक सातासम्म घाम नदेखिँदा घरमै कुञ्जिजस्तो भएका बालबालिका आज सखारै घाम देखिएपछि खुशीले उफ्रदै आँगनमा खेल्न थालेका छन् । गरिब बस्तीका वृद्धवृद्धाका लागि एकाबिहानै लागेको पारिलो घाम अपूर्व कुरो पाएजस्तो बनेको छ ।
यसपाली गत मङ्सिर अन्तिम सातादेखि नै आकास धुम्मिएर राम्ररी घाम नलाग्दा जनजीवन कष्टकर बन्दै आएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी […]

चीन ।“गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ। अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,” सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका […]

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काउने क्रम रोकेका छैनन्। ड्युटीमा रहेका प्रहरी कर्मचारीको हुर्मत लिन्छन् प्रदेश सांसद पाण्डेय पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी मन्त्री हुनु अघिदेखि नै जाँचका नाममा प्रहरीले भारतीय पर्यटकहरू दुःख दिएको भन्दै […]

error: Content is protected !!