२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारले किसानलाई दियो क्रेडिट कार्ड’

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
काठमाडौँ । सरकारले घोषणा गरेको छ महिनापछि ‘किसान क्रेडिट कार्ड’ किसानको हातमा पुगेको छ । बुधबार आयोजित कृषि विकास बैङ्कको ५४औँ वार्षिकोत्सव समारोहमा २० जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ हस्तान्तरण गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कले तयार गरेको ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै कृषि क्षेत्रमा नयाँ प्रविधि प्रयोगले आमकिसानलाई प्रविधिमैत्री बन्न मद्दत पुग्ने अपेक्षा गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गरिएको थियो । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई सुम्पेको थियो ।
किसान क्रेडिट कार्ड पाएपछि ससाना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैङ्कसम्म पुग्नुपर्दैन भने हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैङ्कले भुक्तानी प्रदायक तोक्ने भएका कारण बैङ्कभन्दा टाढा हुँदा पनि कृषकले आफ्नो कृषि कर्म अगाडि बढाउन सक्छन् ।
किसान क्रेडिट कार्डले किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृङ्खला निर्माण हुने बैङ्कले जनाएको छ । बैङ्कले निर्माण गरेको सफ्टवेयरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजारको उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना ड्यास बोर्डमार्फत प्राप्त गर्नसक्ने तथा आफूले राख्न सकिने बैङ्कले जनाएको छ ।
अर्थमन्त्री पौडेलले कृषि क्षेत्रमा लगानी गर्न सबै बैङ्क तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैङ्कलाई गर्न आग्रह गर्दै कृषिलाई उद्यमका रूपमा स्थापित गर्न कृषि विकास बैङ्कबाट किसानले विशेष लाभ लिनसक्ने गरी बैङ्कको प्रविधि सशक्त बनाउनुपर्नेमा जोड दिनुुभयो । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैङ्कको हिजो र आज तुलना नगर्न मिल्नेगरी ग्रोथ भएको भन्दै एनपीएको सुधारको सवालमा, पारदर्शितालगायतका विषयमा धेरै फरक बैङ्कका रूपमा आइसकेको बताउनुुभयो ।
नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने कृषि विकास बैङ्कले पाएको नेतृत्वदायी भूमिकामा सहकार्य गर्न अन्य बैङ्क तथा वित्तीय संस्था तयार रहेको बताउनुुभयो ।
सङ्घले कृषि विकास बैङ्ककै संयोजकत्वमा अध्ययन कमिटी गठन गर्ने जानकारी दिँदै उहाँले कृषि क्षेत्रमा लगानी गर्दा किसानलाई ब्याजदर तथा अन्य प्रकारका दरमा सहुलियत दिन र कृषि प्रविधिको प्रोत्साहन तथा प्रयोग बढाउन थप काम गर्न सहयोग गर्ने बताउनुुभयो।
बैङ्कका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैङ्कले सुरुवातका दिनमा कृषि उद्योग र सहकारी संस्थामा लगानी गरे पनि हाल आएर ग्राहकका आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्ने गरेको बताउनुुभयो ।
वित्तीय सेवा प्रदान गरिरहँदा बैङ्कले विकास बैङ्क हुँदै गरिबी निवारणको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैङ्क बन्न सफल भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताउनुुभयो ।

चौबीस अर्बको कृषि बन्ड
कृषि विकास बैङ्कले २६ वटा ‘क’ वर्गको बैङ्क र एक पूर्वाधार विकास बैङ्कलाई समेट्दै २४ अर्बको कृषि बन्ड ल्याउने भएको छ । त्यसको पहिलो चरणमा बुधबार छ अर्बको बन्ड निष्कासन गर्न ती बैङ्कहरूसमक्ष दरखास्त आह्वान गरेको छ ।
यो बन्डले कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिका साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गर्नुभयो ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]