०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सिंहदरबारमा : प्रधानमन्त्रीको कार्यालय सार्ने तयारी

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

ABC Sanchar
काठमाडौँ, माघ ८ गते । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।
पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ । सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । वि.सं. १९६० मा सिंहदरबार निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिनुभयो ।
अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी)को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैँचा निर्माणलगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिनुभयो ।
माघ २० भित्रै सम्पूर्ण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भइसकेको उहाँले बताउनुभयो । भवनको बाहिरी रङरोगन भइसकेको छ भने आँगनमा घाँस लगाउनुका साथै सौन्दर्यको काम भइरहेको छ । भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै किसिमले चुना र सुर्की (आरसीसी) प्रविधिमा आधारित भएर प्रबलीकरण भइरहेको आयोजना प्रमुख सिंहले बताउनुभयो । प्रबलीकरण भइरहेका भवनहरू भूकम्प प्रतिरोधी हुनेछन् ।

प्रधानमन्त्री कार्यालय ‘स्पेसल जोन’
भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’को रूपमा विकास गरिने आयोजना प्रमुख सिंहले बताउनुभयो । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष निर्माण, क्याबिनेट हल, एक्सन रुम निर्माण, वार एक्सन रुम निर्माण (उद्घाटन तथा सम्बोधन कक्ष), स्टुडियो, आराम कक्ष निर्माण गरिएको छ । त्यसैगरी प्रधानमन्त्री कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान गरिएको छ । सो क्षेत्रको हावा स्वतः शुद्धीकरण हुनेछ । मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका पाँच महाशाखाका सचिवहरूका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
त्यसैगरी भवनको माथिल्लो तलामा उपप्रधानमन्त्रीको कार्यकक्ष निर्माण गर्नुका साथै ५० जना सचिवको मासिक हुने बैठकका लागि कक्ष निर्माण गरिएको आयोजना प्रमुख सिंहले बताउनुभयो । सो क्षेत्रमा पानी वितरणका लागि पानी प्रशोधन प्लान्ट निर्माण गरिएको छ । त्यसैगरी पश्चिमी मोहडाको प्रबलीकरण ७५ प्रतिशत सम्पन्न भएकोे छ । अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार विशेष गरी सिसा, चुना, काठ र फलाम प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको पुनर्निर्माण पनि तत्कालीन शैलीमै भइरहेको छ । ऐतिहासिक कलाकृतिसमेत रहेका यस भवनको पुनर्निर्माणका क्रममा पुराताŒिवक सम्पदाको संरक्षण गरेझैँ संरक्षण गर्नुपर्ने हुन्छ ।
पश्चिमी मोहडाको काम अबको एक वर्षभित्र सम्पन्न भएपछि सिंहदरबारको पश्चिमी क्षेत्रमा नयाँ फाउन्टेन म्युजिक प्रविधि जडान गरी सौन्दर्यीकरण गरिने उहाँले बताउनुभयो ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको पश्चिमी खण्ड वि.सं. २०३० को आगलागीमा बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको थियो । २०३० सालमा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो ।आवश्यक सामग्री बेलायतबाट झिकाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाउनुभएको थियो । कुल एक अर्ब ५५ करोड रुपियाँको लागतमा अहिले सिंहदरबारको प्रबलीकरण भइरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!