०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

कोरोनाको कारण देशभरका ४० प्रतिशत इँटा उद्योगहरु बन्द हुँदै

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७


(राकेश श्रेष्ठ)
चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो ।

इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ । चित्रकारले भने, ‘४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् ।

चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरे ।

इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् ।

चित्रकारले भने, ‘यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।’ उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उनी बताउँछन् । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउँछन् ।

महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउँछन् । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए । ‘कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्’, उनले भने ।

नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ ।

उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उनले भने, ‘जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।’

उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउँछन् ।

पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् ।

चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउँछन् ।

उनले चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गरे । उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उनले मजदुरका समस्या समाधान र पुनः सञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताए । पण्डितले भने, ‘सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय सङ्कटमा पर्छ ।’

स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यात समेत गर्न सकिने बताए । विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए ।

नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो ।

महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!