२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सामुदायिक वनमा पाटेबाघको बिगबिगी सतर्कता बढाइयो

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

(सर्मिला बोगटी)
धनगढी । कैलालीको सामुदायिक वनमा पाटेबाघको ‘मुभमेन्ट’ बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । बाघले मान्छेमाथि आक्रमण गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको हो । शुक्रबारमात्रै पाटेबाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते हुनुभएको छ ।
यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एउटा बाछोलाई मारेर खाएको छ ।
बाघको ‘मुभमेन्ट’ बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताउनुभयो । सबै वनहरुमा मान्छेको प्रवेशमा रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो ।
‘विवाहको बेला भएकाले मान्छेहरु सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्’, उहाँले भन्नुभयो । ‘बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रुपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।’
बाघले मान्छे वा पशुमाथि आक्रमण गर्न सक्ने र तस्कर वा शिकारीले बाघलाई मार्न सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघलाई जोगाउनको लागि सामुदायिक वनका सदस्यहरुलाई परिचालन गरिएको छ । शनिबार क्यामेरा ट्रयापिङ गर्न गएको बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गर्नुभएको थियो ।
‘बाघ देखेपछि रुखमा पाँच/छ मिटरमाथि चढेँ’, उहाँले भन्नुभयो । ‘मलाई देखिसकेपछि बाघ म चढेकै रुखमा चढ्न खोजेको थियो । मेरै वरिपरि धेरै बेरसम्म घुम्यो र भुइँमा रहेको मेरो एउटा जुत्ता लिएर गयो ।’
बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दुधुवा नेशनल पार्क वा बर्दिया राष्ट्रिय निकुञ्ज कहाँबाट आएको हो, भन्ने पुष्टि भइसकेको छैन । तर, आफ्नो प्राकृतिक बासस्थानलाई छोडेर सो बाघ बसन्ता जैविकमार्ग अन्तर्गतका सामुदायिक वनहरुमा आएको हुन सक्ने संरक्षणकर्मीको बुझाइ छ ।
सामुदायिक वनमा आएको बाघलाई सामुदायिक वनमै रहन दिने वा के गर्ने भन्ने सवालमा कुनै टुङ्गो नलागे पनि बाघ देखिएको क्षेत्रमा निगरानी र सतर्कता बढाइएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । ‘हामीले हाम्रा मान्छे खटाएर सुरक्षा, निगरानी गरिरहेका छौं । त्यो बाहेक अहिले केही गर्नसक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । ‘बाघले आक्रमण गरेर घाइते बनाएको व्यक्तिलाई भने क्षतिपूर्ति उपलब्ध हुनेछ ।’
बाघ तीन/चार वटा कारणले आफ्नो प्राकृतिक बासस्थान छोडेर अन्यत्र घुमफिर गर्ने गरेको बताइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले प्राकृतिक रुपमा शिकार गर्न नसक्ने बुढो बाघ, घाइते वा अशक्त बाघ, आफ्नो क्षेत्रमा रहेका बाघसंग लडाई गर्न नसकेको बाघ र पोथीको खोजीमा निस्केको बाघ आफ्नो प्राकृतिक बासस्थान छोडेर अन्यत्र जाने गरेका छन् ।
कैलालीमा देखिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जकै पनि हुन सक्ने श्रेष्ठले बताउनुभयो । ‘हाम्रो निकुञ्जमा ८७ वटा बाघ छन् र सबैको फोटो हामीसंग छ’, उहाँले भन्नुभयो । ‘कैलालीमा देखिएको बाघको फोटो कैद गरेर हाम्रो हो वा होइन भनेर पहिचान गर्न सकिन्छ ।’
बाघ ‘टेरिटोरियल’ वन्यजन्तु हो । एउटा वयस्क बाघले आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने गर्दछ । आहाराको उपलब्धता र वयस्क बाघको सङ्ख्याको आधारमा भाले बाघले आफ्नो क्षेत्र निर्धारण गरेका हुन्छन् । नेपालमा सामान्यतयाः एउटा भाले बाघले २० वर्ग किलोमिटरसम्म आफ्नो क्षेत्र बनाउने गरेको बताइएको छ ।
कैलालीमा देखिएको बाघको बारेमा विस्तृत जानकारी हासिल गर्न आवश्यक रहेको जोड दिइएको छ । वन्यजन्तुबारे जानकार प्राध्यापक करनबहादुर शाहले सामुदायिक वनमा पुगेको बाघ बुढो, रोगी वा अशक्त पनि हुन सक्ने बताउनुभयो ।
‘त्यो बाघको बारेमा बुझ्दा त्यसका गतिविधि केही असामान्य छन्’, उहाँले भन्नुभयो । ‘बुढो वा रोगी, अशक्त भएका कारणले आफ्नो प्राकृतिक वासस्थानबाट अन्यत्र आएको हुनसक्छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]