०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

चितवन राष्ट्रिय निकुञ्जका गैँडाहरु बासस्थान खोज्दै पश्चिमतर्फ

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

(राकेश श्रेष्ठ)
चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, ‘राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।’ पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उनले बताए । राप्ती नदीले बगाएर ल्याएका बालुवा तथा कङ्क्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ ।

उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भङ्गालामा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैँडा रमाउने गरेका छन् । पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाइएका पक्की संरचनाले गैँडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाइ छ । पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैँडा पश्चिम पुग्ने गरेका छन् । उनका अनुसार वर्षाको बाढीले बगाएर गैँडा पश्चिम क्षेत्रसमेत पुग्ने गरेका छन् ।

केही वर्षअघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पु¥याएका १० गैँडा जीवितै उद्धार गरी ल्याइएको थियो । अझै केही गैँडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ । यसरी नै वर्षात्को समयमा पूर्वका गैँडा बगाएर पश्चिम पु¥याउने गर्दछ । त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैँडा पश्चिममै बस्ने गरेका छन् । कतिपय गैँडा आफैँ पनि पश्चिमतर्फ जाने गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ । पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिइएको छ । उनले चैतमा गैँडा गणनापछि आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, ‘पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ ।’ पश्चिममा बासस्थान सानो र गैँडाको सङ्ख्या धेरै भएको उनको भनाइ छ । एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर मर्नेक्रम भने बढेर गएको छ । प्राकृतिक कारणबाट मरेकामध्ये धेरै गैँडा पश्चिमी क्षेत्रमा रहेको उनको भनाइ छ । मरेकामध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन् । चोरी शिकारीसमेत पश्चिममा बढी हुने गरेको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ९२ गैँडा मरेका छन् । तीमध्ये ८८ कालगतिले मरेका हुन् । चार चोरी शिकारीले मारेका छन् । कालगतिले मर्ने गैँडा एकापसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भइरहेको बताए । गैँडा गणनापछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उनले बताए।

पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन् । जसमध्ये यस निकुञ्जमा ६०५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गैँडा गणनायता चितवनबाट चार गैँडा चीन सरकारलाई उपहार पठाइएको र शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ । गैँडालगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रित हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानीलगायतका स्थानमा पर्यटकको आगमन बढेको छ । यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाइने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!