२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री ओली

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

(ABC SANCHAR)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन।

प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे।

समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि ।”

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेश

प्रधानमन्त्री ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए। “कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्”, उनले भने, “संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अङ्क गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।”

प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अङ्क गणित बनाइनुपर्नेमा जोड दिए। उनले यदि संसदीय अङ्क गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे।

“संसद्लाई देशको आवश्यकताअनुसार अङ्कगणितीय बनावटमा लैजानुपर्दछ । संसदीय अङ्क गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ” उनले भने, “यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ ।”

उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए।

प्रधानमन्त्रीले देशको आवश्यकतासँग अङ्क गणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रष्टीकरण दिए।

“राष्ट्रिय आवश्यकतासँग अङ्क गणितले तादात्मयता राखेन, हामीले तादात्मयता राख्न कोसिस ग¥यौ, भएन । तब ताजा जनादेशमा जानु पथ्र्यो”, उनले भन, “मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अङ्क गणितमा हेरफेर नगरी, अनुकूल अङ्क गणितबिना देश अगाडि जानै सक्दैन । त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ । देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंक गणित निर्माण गर्नुपर्दछ ।”

प्रधानमन्त्रीले विकास निर्माणका कामलाई अवरोध नगरी निरन्तर चालू राखे मात्र चाँडो विकास हुने बताए।

आयोजनामा कुनै आर्थिक अनियमिता भए छानविन र काम पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ थियो।

“दोषी पाइए कारवाही गर्नुपर्दछ तर विकास निर्माणमा अवरोध भयो भने त्यसले बहुआयामिक क्षति पुर्याउँछ,” उनले भने ।

उनले विकास निर्माण सरकारको मात्र चाहना नभई सबैको सरोकारको विषय भएकाले कुनै विलम्ब नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिए।

“विकास सरकारको मात्र चाहना होइन । विकास सबैको साझा सरोकारको विषय हो”, प्रधानमन्त्रीले भने, “एकपल्ट रोकिएपछि काम गर्ने मान्छेमा पनि उत्साह हुँदैन। आयोजना रोकिएपछि लम्बिन्छ । जसले गर्दा आयोजनाप्रति मानिसको विश्वास हराउँदै जान्छ ।” उनले विकास निर्माणको कुनै व्यवधान खडा नहुने गरी काम अगाडि बढाइनुपर्ने भन्दै उनले बीचमा त्यस्तो अवस्था आए छानविन गर्दै कामलाई अगाडि बढाइनुपर्नेमा जोड दिए।

उनले संसदीय समितिले विकास निर्माणका कामलाई जथाभावी छानविन गर्ने र त्यसले विकास निर्माणमा असर पार्ने गरेको समेत बताए।

“संसदीय समितिले अनियमियता भएको विकास निर्माणको काम रोक्ने होइन छानविन गर्नुपर्ने पर्दछ । एउटा समितिले छानविन गर्छ अर्को पनि त्यही गर्छ । एउटा अर्बौको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर हेर्नुपर्दछ”, उनले भने, “त्यसैले हामीले विकास निर्माणका काममा कुनै प्रतिकूल असर पर्न दिनु हुँदैन।”

प्रधानमन्त्री ओलीले सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने योजनामा सरकार रहेकोसमेत जानकारी गराए।

साना तथा ठूला उद्योग स्थापना गर्दा वातावरणीय मूल्याङ्कन गर्नुपर्ने झमेला रहेको र त्यसले आयोजनालाई पछि धकेल्ने भएकाले वातावरणीय मूल्याङ्कनका नाममा आयोजनालाई पछि नधकेल्ने गरि काम गर्नुपर्ने बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!