
(ABC-Sanchar)
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा दुई किसिमका तस्बिरले चर्चा बटुलेको छ । एउटा ‘बेबी बम्प’ वाली आमा र अर्को बिरामी सन्तानको उपचारका लागि खर्च जुटाउन काखमा भाले र पिठ्यूँमा बिरामी सन्तान बोकेर हिँडेकी आमा । 
कलाकार प्रियंका कार्कीले आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाउँदै सन्तान प्राप्ति जीवनकै सबैभन्दा सुन्दर अवस्थाको रुपमा चित्रण गर्दै गर्दा विभिन्न टीकाटिप्पणीको सामना गर्नुपरेको छ । तर, उनले आफू नकारात्मकताको पछि नलाग्ने बताउँदै आइरहेकी छिन् ।
प्रियंकाले ‘वी आर प्रेग्नेन्ट’ भन्दै आफू गर्भवती भएको समाचार आफ्ना शुभचिन्तकहरुमा बाँडिन् । गर्भावस्थाको हरेक क्षणलाई उनले विभिन्न भिडियो ब्लग बनाउँदै सार्वजनिक गर्दै आइन् । उनले महिला र गर्भावस्थाप्रति समाजको दृष्टिकोण बदल्नकै लागि आफूले यो अवस्थालाई खुशियालीको रुपमा साटेको बताएकी छिन् ।
हरेक दिन समाजिक सञ्जालमा आफ्ना भावना साट्ने नायिका कार्की नकारात्मक टीकाटिप्पणीको पछि नलाग्ने र सकारात्मक टिप्पणी आफ्ना लागि सधैं उर्जाको स्रोत बन्ने बताउँछिन् । इन्स्टाग्राम र यूट्युबमा उनका लाखौं फ्यान, फलोअर्स छन् । 
प्रियंका एक मोडल, कलाकार, अझ भनौं, ग्ल्यामर क्षेत्रमा क्रियाशील महिला । उनका तस्बिर, अभिनय, वा उनले खेलेका विज्ञापन मनापराउने र हेर्नेहरु धेरै छन् । तर, प्रियंकालाई त्यसरी हेर्नेहरु नै आज उनको गर्भावस्थाको तस्बिरलाई उत्ताउलो र सामाजिक रीति विपरीतको संंज्ञा दिइरहेका छन् । तथापि कतिपयले भने प्रियंकालाई साहसी महिलाका रुपमा हेरेका छन् र धन्यवाद दिइरहेका छन् । यसरी प्रियंकाको गर्भावस्ताको तस्बिरलाई लिएर सामाजिक सञ्जाल दुई कित्तामा बाँडिएको छ ।
केही दिन अगाडि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्विटरमा प्रियंकाको बेबी बम्पबारे सामाजिक सञ्जालमा फैलिएको नकारात्मक टिप्पणीमाथि आफ्नो भनाइ राखे । उनले ‘यति गर्न यो–यो खानैपर्छ’ शीर्षकमा महिलालाई सन्तान उत्पादनका कारखाना नभई आफ्नै सन्तानका सृष्टिका श्रोतको रुपमा व्याख्या गरे ।
डा. बाबुरामले भनेका छन्, ‘यति गर्न यो यो खानैपर्छ : १. महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन्, आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक÷उन्नत चेतना (गुगल सर्च गरौं) । २. युगौदेखिको पितृसत्तात्मक र स्त्रीद्वेषी÷रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस । ३. ट्विटेलाई इँटको सट्टा ढुंगा हान्ने आत्मवल !’
बाबुरामको यो ट्विटप्रति नकारात्मक टिप्पणीको बाढी नै चल्यो । धेरैले छाडापनलाई मलजल गर्न सघाएको भन्दै आलोचना गरे । पूर्वमाओवादी नेतासमेत रहेका डा. बाबुरामको ट्विटलाई रिट्विट गर्दै माओवादी कार्यकर्तासमेत रहेकी आस्था केसीले ‘आफ्नै छोरीलाई यति सुन्दर कार्य किन नगराउनुभएको ?’ भनी डा. भट्टराईमाथि प्रश्न तेस्र्याइन् ।
आस्थाले लेखिन्, ‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनुभएको ? खोई देखिएन त ? कस्ता–कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ, टोइट ! कस्तोखालको कमेन्ट हो यो ? मानिस सामाजिक प्राणी हैन र ? कि केही मानिसलाई पशुलाई जस्तो जे गरे पनि छुट र स्वतन्त्रता हुने हो ?’
आस्थाको यस ट्विटमा पनि बाबुराममाथि खनिएका छन् ट्विटर प्रयोगकर्ता । आस्था केसीले ट्विट गरे लगत्तै डा. बाबुराम भट्टराईकी छोरी तथा विद्यार्थी नेतृ मानुसी यमि भट्टराईले पनि आफ्नो बेबी बम्पसहितको फोटो पोस्ट गर्दै आस्थालाई जवाफ दिइन् ।
मानुषीले एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो भन्दै आस्थालाई प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, ‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ? नेपाली कणहरू (कामरेडहरु) सारै रूढीवादी ! मेरो सुन्दर कार्य हेर्नु अब ।’
त्यसो त डा. भट्टराईले बिरामी छोराको उपचारका लागि खर्च जुटाउन पिठ्युँमा बिरामी छोरो र काखमा कुखुराको भाले च्यापेर हिँडेकी एक आमाको तस्बिर पोष्ट गर्दै यसमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनी एक राजनीतिज्ञसमेत भएकाले पनि होला, यो पोष्टमा पनि खुबै नकारात्मक टिप्पणीहरु आएका छन् ।
डा. भट्टराईले भनेका छन्, ‘पिठ्युँुमा बिरामी छोरो र खर्च जुटाउन काखीमा कुखुराको भाले च्यापेर उपचारको खोजीमा हिँडिरहेकी यी निरीह, तर ममतामयी आमाको फोटो प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र योजना आयोगको कार्यालयमा टाँगेर देशको स्वास्थ्य नीति तथा योजना र कार्यक्रम बनाए देशमा केही सुधार हुन्थ्यो कि ?’
यस तस्बिरलाई सामाजिक सञ्जालमा धेरैले सेयर गरेर सरकारको ध्यनाकर्षण गराएका छन् । यस तस्विरको चर्चा यतिबेला यस कारणले पनि छ कि केही दिन अघिमात्रै सरकारले भारतमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएपछि सरकार गरिव जनताका लागि नभई नेताहरुका लागि मात्रै भएको भन्दै आलोचना भएको छ । बिरामी छोराको उपचारका लागि खर्च जुटाउन कुखुराको भाले बेच्न हिँडेकी ती आमाको अवस्थाले गरिव जनतामा स्वास्थ्य सेवाको पहुँच कहिले भन्ने प्रश्न यतिवेला सर्वत्र देखिएको छ ।
प्रियंकाको चर्चा र यसको मनोसामाजिक प्रभाव
प्रियंका र उनका श्रीमान आयुष्मान देशराजले आफूहरु आमाबाबु बन्न लागेको भन्दै सुरुदेखि नै खुशी साटासाट गर्दै आइरहेका छन् । गर्भावस्थाको ठेकदार महिलालाई मात्र ठान्ने समाजका लागि प्रियंका र आयुष्मान उदाहरण बनेका छन् । जसले गर्भावस्थालाई बराबरी हिस्साको रुपमा व्याख्या गर्दै आएका छन् । रातोपाटीबाट