
(रवि वर्णवाल)
बिरगंज । जनकपुर-प्रदेश नम्बर २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्। प्रदेश २ मा रहेका ८ जिल्लमा ४ हजार २७ सीमा स्तम्भ मध्ये ८४९ सीमास्तम्भ हराएका हुन्।
४ हजार २७ सीमा स्तम्भ मध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेकोमा, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्ण रूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएका तथा ८४९ सीमास्तम्भ हराएका छन्। 
प्रदेश २ को पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये ८४९ वटा हराएको छ।
सीमास्तम्भ नै हराएपछि नेपाल भारतको सीमामा समस्या देखिएको छ। भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए।
धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको उनको भनाइ छ।सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन् ।
सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय परिवार बस्दै आएका छन्। बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरिएको बताइएको छ।
यसरी प्रदेश २ को आठ जिल्ला अन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटंर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भ मध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको छ।