१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

मध्यरातमा कालीगण्डकीबाट हुन्छ नदिजन्य उत्खनन

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(ABCSanchar)
काठमाडौं । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए ।
यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ ।
सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानकर्मी आरके अदिप्त गिरीसहितका युवा, पत्रकार तथा अधिकारर्मीसहितको टोली कालीगण्डकी दोहनको अवलोकन गर्न कालीगण्डकीमाथिको पुलमा पुगेको थियो । कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसिभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरु परिचालन गरिएको थियो । लाग्छ उनीहरु नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए । राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो । लस्ती बगर, दम्मुवाखोला, कालाखोला बगर, मालढुङ्गाको वारिपारि बगर र जलजलाका अधिकांश स्थनामा रातभर नदी दोहन हुने गरेको छ ।
राज्यले ठेक्का लगाएको समयमा दिउँसै अवैध उत्खनन गर्ने कालीगण्डकी दोहनकर्ताहरु ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालीगण्डकी लुटिरहेका छन् । कालीगण्डकीको छातीमा दोहनकर्ताले रातभर रजाइँ गरेको श्रव्यदृश्यसमेत मध्यरातमा अवलोकनका लागि पुगेको उक्त कालीगण्डकी बचाऊ अभियान टोलीले कैद गरेको छ ।
रातको १२ बजेदेखि २ बजेसम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ, भोलिपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धवलागिरिको साविक सदरमुकाम रहेको बागलुङ बजारबाट कालिका मन्दिरसम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरीसमेत भए पनि उनीहरु मौन बस्ने गरेका छन् ।
कालीगण्डकीलाई लुटेर खान पल्केका विरुद्ध कालीगण्डकी बचाऊ अभियानको निरन्तर खबरदारी हुने कालीगण्डकी बचाऊ अभियानका मुख्य अभियानकर्मी तथा प्राकृतिक विषयमा पत्रकारिता गर्ने गिरीले बताउनुभयो । “हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौँ, केही स्थानमा सकरात्मकरूपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन रोक्न सकिएको छैन, प्रहरीले २४सै घण्टा नदी दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले साङ्केतिकरूपमा रातको १ बजे बत्ती बालेर दोहनस्थलमा विरोध जनाएका छौँ”, गिरीले भन्नुभयो, “यसमा बागलुङ, म्याग्दीसहित अन्य जिल्लाका युवा तथा पत्रकारको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ ।”
असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने गण्डकी प्रदेशको कानून भए पनि राज्यसत्ताको मिलेमतोमा मध्यरातमा कालीगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताउनुभयो ।
नेपालकै पुरानो सभ्यतामध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एक मात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवाज उठ्न थालेको छ । पर्वत प्रहरीले २४सै घण्टा नदी किनारामा प्रहरी खटाइएको दाबी गर्दै आएको छ । प्रहरीले २४सै घण्टा दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाएको र केही मात्रमा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
“म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरूपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै सवारीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौँ, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ”, बुढाथोकीले भन्नुभयो, “हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, राति बत्ती निभाएर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुनसक्छ, यसरी नै नागरिकस्तरबाट दबाब सिर्जना भए कालीगण्डकी बचाउन सम्भव छ ।”
यसैगरी नदीको दोहन भइरहने हो भने कालीगण्डकी सभ्यता र यस वरपर रहेका मठ, मन्दिर र देवालयको अस्तित्व सङ्कटमा पर्ने कालीगण्डकी बचाऔँ अभियानमा सक्रिय रुपेस सापकोटाले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको […]