
ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा प्रहरी हेडक्वार्टरले आन्तरिक छानबिन गरिरहेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका डिआईजी वसन्त लामा नेतृत्वको टिमले घटनाबारे छानबिन गरिरहेको छ । साउन १५ र १६ मा प्रहरी हेडक्वार्टर तथा ७ वटा प्रदेशमा सञ्चालित परीक्षामा २ हजार ४ सय परीक्षार्थी सहभागी भएका थिए ।
डिआईजी वसन्त लामा नेतृत्वको समितिले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ । ८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन् । समितिसँगको बयानमा उनले भनेका छन्–‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ ।’ यसअघि युएन शाखामा बसेका खड्का र शाहको बिचमा पुरानो चिनजान थियो ।
समितिले युएन शाखामा कार्यरत डिएसपी वासुदेव पाठक सहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको छ । हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ ।
युएन शाखाका एसपी अनुपम शमशेर जबराको घर्रामा प्रश्नपत्र राखिएको थियो । सो घर्राको साँचो कार्यालय सहयोगी सुरेश बमसँग पनि थियो । सुरेशले साउन १३ मा एसपी जबरा घरतिर हिँडेपछि साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको छानबिनबाट खुलेको छ ।
यसअघि डिएसपी रुपेश खड्कालाई प्रश्नपत्र पु¥याउन घरमा गएका भनिएका प्रहरी नायव निरीक्षक (सई) जनक थापाले चाहिँ आफ्ना ज्वाइँ र सालोलाई प्रश्नपत्र पठाएको छानबिनबाट थाहा भएको छ । परीक्षाको प्रश्नपत्र प्रहरी हेडक्वार्टरको युएन शाखाले तयार गरेको थियो । परीक्षामा सो शाखामा कार्यरत डिएसपी वासुदेव पाठक र इन्स्पेक्टर दिनेश पुन पनि सहभागी भएको पाइएको छ । पुन भर्खरै इन्स्पेक्टरमा बढुवा भएका हुन् ।
डिएसपी पाठक र पुनको योजनामा ४ सेटको प्रश्न तयार गरेर आफ्नो टिमलाई सजिलो प्रश्न पर्ने गरी सेटिङ गरिएको स्रोतले बतायो। पाठक र पुनले साउन १५ मा पहिलो सिफ्टमा जाँच दिएका थिए । प्रश्नपत्र लिक गर्न शाहले बमलाई दिएको एक लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको र परीक्षा पास भएर मिशनमा जानेबाट थप रकम दिलाइदिने आश्वासन दिएको परिचर बमले छानबिन समिति समक्ष बयान दिएर आफूले चोरको पुष्टि गरेका छन् ।
सम्बन्धित समाचार : प्रहरीमा प्रश्नपत्र ‘लिक’ प्रकरण : परिक्षा रद्ध नहुने, संगठनलाई बदनाम गर्ने खुलेआम हिड्दै !
प्रश्नपत्र बाहिरिएको प्रकरणमा ३० बढी प्रहरी जोडिएको छानबिन स्रोतले जनाएको छ । ‘यो प्रकरणमा मुख्य भूमिका हवल्दार साह र परिचर बमको देखिएको भएपनि उनीहरुलाई उत्प्रेरित गर्ने सबैलाई छानवीनमा तानिएको छ’, प्रहरी प्रधान कार्यालयले जनाएको छ । परीक्षा सञ्चालनको तयारी भइरहँदा गत शनिबार यूएन शाखाकै एक अधिकारीसम्म प्रश्नपत्र पुगेको थियो ।
३० भन्दा बढी प्रहरी अधिकारी संलग्न चोरीको घटना बाहिरिएपछि प्रि–स्याटको परिक्षा रद्ध हुन्छ कि हुँदैन ? भन्ने कान्तिपथको प्रश्नमा प्रहरी प्रवक्ता एसपी बसन्त कुँवरले भने, ‘नयाँ प्रश्नपत्र बनाएर परिक्षा लिईएको हुँदा परिक्षा रद्द हुने सम्भावना निकै कम छ । छानबिन समितिको निष्कर्ष अनुसार अघि बढ्ने सुरसार भएको पनि उनले बताए । काठमाडौँ परिक्षा केन्द्रमा समस्या आएपनि अन्य प्रदेशमा भने समस्या नभएको र प्रश्नपत्र पनि फरक भएको कुँवरले बताए ।’ प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो ।
प्रि–स्याट र स्याट पास गरेका नेपाल प्रहरीका ४० जना भन्दा बढी अधिकृत लामो समयदेखि युएन मिसनमा जान पाएका छैनन् । २०७४ सालमा स्याट पास गरेकाहरू मिसनमा जानबाट वञ्चित भएका हुन् । युएन शाखाले ४ वर्षअघि स्याटको परीक्षा पास भएकाहरू पनि फेरी परीक्षामा सामेल हुनुपर्ने निर्णय गरेपछि पास भएर बसेकाहरू असन्तुष्ट बनेका छन् ।
यसअगाडि राष्ट्रसंघीय मिसनका प्रतिनिधि नै आएर लिएको परीक्षाको समेत प्रश्नपत्र लिक भएको थियो। पाँच वर्षअगाडि सशस्त्र प्रहरीको हेडक्वार्टर भएको स्याट परीक्षाकै प्रश्नपत्र मिलेमतोमा बाहिरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षाकै प्रश्नपत्र लिक भएको र सो काम सशस्त्र प्रहरीका कर्मचारीले गरेको पुष्टि भएपछि परीक्षा नै रद्द भएको थियो।
सो प्रकरणमा नेपाल प्रहरीका ५ सय र सशस्त्रका ३ जना कर्मचारी संलग्न रहेको परीक्षाका लागि १२ र ३ बजे परीक्षाको समय तोकिएकोमा १० बजे नै प्रश्नपत्र बाहिरिएको र अन्तर्राष्ट्रिय टोली बसेर फोटोकपी गरेर प्रश्नपत्र आफूसँगै लिएर हिँडे पनि सशस्त्रले फोटोकपी गरिएका सामग्रीको डिजिटल कपी कम्प्युटरमा रेकर्ड बस्ने पद्धति रहेकोबारे जानकार सशस्त्रका कर्मचारी प्रश्नपत्र लिक गरेर भाइबरमार्फत परीक्षार्थीलाई पठाएको खुलेको थियो ।
कान्तिपन्थ बाट