
(ABC-Sanchar)
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक-दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ।
विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भू-भाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना छ।
प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ। रासस