(ABC-Sanchar)
दाङ । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराले दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनि अन्दाजी ४० बर्षीय देबबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्य दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक फरार रहेका छन् ।
दाङको बबई गाउँपालिका वडा नं. ३ ठाडो खोलामा बिहान ९ बजेतिर जीप दुर्घटना भएको र आफुहरुलाई साढे ९ बजेतिर मात्रै खवर प्राप्त भएको घटनास्थलबाट प्रहरी सई महतराले बताए ।
आफुहरु पुगेर उद्धारमा जुटेको र ११ जना घाइतेलाई उपचारका लागि तुलसीपुर तर्फ पठाएको उनले बताए ।
दुर्घटनाको कारण खुली सकेको छैन ।