(महेन्द्र सिंह)
बाँके । राप्तीपारी मान्छे खाने मार्ने बाघ बुधबार बेलुकासम्म कतै फेला परेको छैन । बाघको पाइला अनुसार सम्भावित स्थान मंगलबार पत्ता लागेपनि बुधबार रातीसम्म पनि फेला पार्न नसकिएको हो ।
बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा मंगलबार र बुधबार दिनभर परिचालन भएको थियो ।
बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप मंगलबार एउटा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो । बुधबार सम्भावित अर्को स्थानमा पनि आहारा स्वरुप अर्को पाडो लगेर बाँधिएको छ । बाघको आहारा नजिकै स्वचालित क्यामेरा समेत जडान गरिएको छ । तर, उक्त स्थानमा बुधबार रातीसम्म पनि बाघ नदेखिएको टोलीका सदस्य एवम् वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका अध्यक्ष लवराज खरेलले जानकारी दिए ।
‘दुई दिनदेखी हामी जंगलमा परिचालित भइरहेका छौं, तर बाघलाई कतै फेला पार्न सकेका छैनौं,’ उनले टेलिफोनमा भने ‘हिजो(मंगलबार) एक ठाउँमा मात्र आहारा राखिदिएका थियौं, आज (बुधबार) थप अर्को ठाउँमा आहारा राखिदिएर त्यहाँ पनि क्यामेरा जडान गरी फर्केका छौं ।’ आहारा खान बाघ बुधबार रातीसम्म पनि नआएको अध्यक्ष खरेलले सुनाए । उनले थपे, ‘हामीले आहारा राखिदिएको ठाउँ खोला हो, पानी खान खोलामा आएको पाईला भेट्टाएपछि त्यहीँ ठाउँमा आहारा राखिदिएका हौं, तर त्यहाँ अहिले बाघ आएको छैन । बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सवडिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । यस्तै डिभिजन वन कार्यालय बाँकेले पनि कर्मचारीलाई खटाएको छ ।