(ABC-Sanchar)
बाँके । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेको वडाअध्यक्ष रामलखन थारुले जानकारी दिए।
बाघले आक्रमण गरेपनि उनी बाँच्न सफल भएका उनले बताए। वडाअध्यक्ष थारुका अनुसार आइतबार माध्यान्ह १२ बजेतिर सामुदायिक वन क्षेत्रभित्र बाघले आक्रमण गरेको थियो। मण्डफवा सामुदायिक वनको पहाडी क्षेत्रमा घाँस, दाउरा खोज्न गएका बेलामा बाघले उनलाई एक्कासी आक्रमण गरेको हो।
घटनास्थल फत्तेपुर गाउँबाट करिव ३ किलोमिटर भित्र पर्छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघले आक्रमण गरेर स्थानीय युवालाई घाइते बनाएको बताए। ‘बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएका छन्, अवस्था खतरामुक्त नै छ,’ अधिकारीले भने।
बाघसँग केहीबेरसम्म लडेका उनलाई भुइँमा पल्टाएर घाटीमा टोकेर रगत चुस्न थालेका बेलामा सँगै जंगलमा गएका साथीहरुले हो–हल्ला गरेपछि बाघ त्यहाँबाट भागेको स्थानीयले बताए। गद्दीको घाटीमा गहिरो प्वाल परेको छ।
बाघको आक्रमणबाट घाइते भएका उनलाई स्थानीयले उद्दार गरेका हुन्। उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। अस्पताल पुर्याएपछि उनको होस खुलेको छ। यसअघि शनिबार मात्रै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरी मारेको थियो।
एक महिनाअघि पनि उक्त वडाकै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो। गत भदौं यता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।