२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

नेपालको रेल सञ्चालनमा ढिला किन?

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

(ABC=SANCHAR)
काठमाडौं । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव सिर्जना भएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ्न सकेन । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अब चाँडै उद्घाटन मिति तय गरेर औपचारिक रूपमा रेल सञ्चालनमा ल्याउने बताएका छन् । ‘रेल सञ्चालन गर्ने तयारी भइरहेको बेला कानुनको अभाव सिर्जना भयो, कानुन नै थिएन, फेरि अध्यादेश जारी भएकाले अब चाँडै उद्घाटन गर्छौं,’ उनले भने ।

गत १ फागुनयता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किने गरेको थियो । उद्घाटनको प्रतीक्षामा यसरी दिनहुँ कुद्ने रेल आजभोलि भने दिन बिराएर कुदाउन थालिएको छ । ‘आजभोलि दिन बिराएर ड्राइ रन हुँदै आएको छ, कति ठाउँमा ढुंगा सम्याउनुपर्ने भएकाले रेल रन हुँदा सम्भव नभएकाले दिन बिराएर रन हुने गरेको छ,’ झाले भने ।

यसअघि, फागुन तेस्रो साताभित्र रेलको उद्घाटन गर्ने लक्ष्य राखेर १ फागुनदेखि नै नेपाल रेलवे कम्पनीले ड्राई रन सुरु गरेको थियो । सरकारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट संयुक्त रूपमा उदघाटन गर्ने तयारी गर्दै आएको छ । दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउने समय नजुर्दा रेल सञ्चालनमा ढिलाइ हुन पुगेको बताइन्छ । रेलवे कम्पनीले भने दुवै देशका प्रधानमन्त्रीको समय नमिल्दा भन्दा पनि योबीचमा कानुनको रिक्तताका कारण सञ्चालन हुन नसकेको जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री देउवाको चैत तेस्रो साता हुन गइरहेको भारत भ्रमणका क्रममा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा १८–२० चैतमा हुन गइरहेको भारत भ्रमणका क्रममा देउवा र मोदीले संयुक्त रूपमा रेल सेवा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक निर्णय हुने सम्भावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

रेलको ड्राई रन गर्न भारतको कोंकण रेलवे कम्पनीका १४ जना प्राविधिक र नेपाली टोली अहिले खटिएको जनाइएको छ । कोंकण कम्पनीका २६ जना प्राविधिकसहितको टिमले भने उदघाटनपछि रेलवे सञ्चालन गर्नछ । कोंकण कम्पनीका बाँकी १२ जना कर्मचारी उद्घाटनपछि मात्र आउने नेपाल रेलवे कम्पनीले जनाएको छ । १६ महिनाअघि रेलका दुईवटा सेट ३ असोज २०७७ मा भारतबाट ल्याइएको थियो । रेलको ड्राई रन सुरु गर्नुअघि धनुषाको इनरुवास्थित रेल्वे स्टेसनमा १ वर्ष बढी समय पालले छोपेर रेल राखिँदै आएको थियो । भारतीय रेल्वे कम्पनीसँग एक वर्षको वारेन्टीमा खरिद गरिएको रेलको वारेन्टीसमेत समाप्त भइसकेको छ । तत्कालीन सरकारले कानुन, भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन तथा तयारी नै नगरी हतारमा रेल ल्याउँदा लामो समय सञ्चालनबिनै थन्किन पुगेको थियो ।

सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो । यो रेलमार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!