ABC (Sanchar) काठमाडौंको कलंकीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट आइतबार राति खटिएको टोलीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन्। उनीहरूबाट प्रहरीले ४३ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको कालिमाटी वृत्तले जनाएको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट डिजिटल तराजु दुईवटा, दुई लाख ४५ हजार, प्याकिङ गर्ने प्रयोग हुने प्लास्टिकहरू, चार वटा मोबाइल फोन र एउटा मोटरसाइकल बरामद गरेको छ।
यसमा वृत्तले लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान गरिरहेको जनाएको छ। रासस