२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भैरहवाको सरकारी जग्गामा ७ वर्षदेखि होटेल र ब्यांक्वेट सञ्चालन किन?

Logo
प्रकाशित बुधबार, चैत्र ३०, २०७८

(ABC=SANCHAR)
भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिको स्वामित्वमा रहेको महेन्द्र सभागृह र सिद्धार्थ बाल उद्यान परिसरमा कर्पोरेट हाउस नक्साविनै सात वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ ।

सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ६ मा रहेको उद्यानलाई ३० भदौ २०७१ मा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.(पौवा)लाई सार्वजनिक निजी साझेदारीमा बाल उद्यान सञ्चालन गर्ने र सिद्धार्थनगर– १३ स्थित महेन्द्र सभागृहलार्ई व्यवस्थित तथा दीगो किसिमले सञ्चालन गरी नगरवासीलाई सरल, सुलभ स्वच्छ र व्यवस्थित सेवा प्रदान गर्नेगरी ४ असोज २०७० मा निलम पटवा (पटवा ब्यांक्वेट)सँग सम्झौता गरेका थियो ।

सम्झौताको उद्देश्यविपरीत सञ्चालनमा रहेको यी कर्पोरेट हाउसले सार्वजनिक सम्पत्तिमा निर्मित संरचना पनि नक्साविनै (मापदण्ड विपरीत) सञ्चालन गरिरहेका छन् ।

सिद्धार्थनगरमा सानोतिनो सञ्रचना बनाउँदा पनि नक्सा प्रक्रियामा जानुपर्छ । सेवा लिन आउँदा पनि नगरपालिकाले नक्सा, कर तिरेको रसिद माग्छ । तर, नगरपालिकाकै सम्पत्तिमा बनेको अवैध संरचना ७ वर्षदेखि निर्वाध चलिरहँदासमेत नगरपालिकाले कानुनी दायरामा आउन भनेको छैन । नगरपालिकाले कुनै मापदण्डमा आउन पत्राचाार गरेको छैन ।

यसअघि यी कर्पोरेट हाउस व्यवसाय कर दर्ता नै नगरी सञ्चालन गरेको खुलेको थियो । अहिले पटवा ब्यांक्वेटले कर बुझाएको छ भने पौवाले व्यवसाय दर्ताका लागि निवेदन मात्र दिएको छ । बहाल शुल्क पनि नबुझाएको शुभ ओम कम्पनी (पौवा)लाई नगरपालिकाले २३ माघमा बक्यौता बहाल शुल्क बुझाउन र ८ फागुनमा व्यवसायकर दर्ता गर्न भनि पत्राचार गरेपछि कम्पनीले बहाल शुल्क बुझाएको छ । नगरपालिकाको राजश्व शाखाले उद्देश्यविपरीत चलाएको भन्दै मापदण्डमा नरहेकोले दर्ता प्रक्रिया अगाडि नबढेको जानकारी दिएको छ ।

नगरपालिका क्षेत्र भित्र कुनै पनि निजी, अर्ध सरकारी वा सरकारी स्वामित्वको घडेरी वा सार्वजनिक जग्गामा कुनै प्रकारको भौतिक विकास गर्न वा निर्माण कार्य गर्नुपरेमा नगरपालिकमा निवेदन दर्ता गरी स्वीकृति लिनुपर्ने भए पनि सिद्धार्थ बाल उद्यान र महेन्द्र सभागृहमा बनाइएका थप संरचनाबारे नगरपालिकाको प्राविधिक तथा नक्सा शाखालाई जानकारीसमेत छैन । द्वय कर्पोरेट हाउसले निर्माण गरेको संरचनाबारे नगरपालिकामा न नक्सा पास छ, न त संरचनाबारे जानकारी वा प्रस्ताव नै । ७ वर्षदेखि सञ्चालनमा रहेको ती कर्पोरेट हाउसमा नगरपालिकाले पनि कार्यक्रम चलाउँदै आएको छ । व्यवसाय कर दर्ता र नक्सा दर्तासमेत नगरेको प्रतिष्ठानले नगरपालिकाका कर्मचारीहरूको मिलोमतोमा कार्यक्रम हुँदै आएको छ ।

नगरपलिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले पटवा ब्यांक्वेट र पौवा होटलको संरचनाबारे कुनै प्रस्ताव, नक्सा र निवेदन नआएको जानकारी दिए । नक्सा फाँट प्रमुख राजन कर्णले नगरपालिकाको स्वामित्वमा रहेको सो सम्पत्तिबारे कुनै जानकारी नभएको बताए । ‘मैले सम्झौता पनि हेरेको छैन । हाम्रो तथ्यांकमा त्यहाँको कुनै नक्साको कागजात र निवदेन आएको छैन,’ उनले भने ।अस्थायी संरचना बनए पनि त्यो संरचना नगरपालिकामा जानकारी गराई स्वकीकृत लिनुपर्छ । तर, सार्वजनिक सम्पत्तिमा रजाइँ गरेका दुवै कर्पोरेट हाउसले स्वीकृति लिएका छैनन् । नगरपालिकाको तथ्यांकअनुसार बाल उद्यान दुई बिघा १६ कठ्ठा १७ धुर क्षेत्रफलमा र महेन्द्र सभागृह पनि एक बिघा १० कठ्ठा १५ धुर क्षेत्रफलमा छ । निलम पटवाको लगानीमा बनेको उद्देश्यविपरीतको पटवा ब्यांक्वेट हल नक्सा मापदण्डमा छैन । सभागृह बन्द गरी छुट्टै पार्टी प्यालेस चलिरहेको छ भने पौवालाई सम्झौताको उद्देश्य प्रष्ट रुपमा व्यवस्थित रुपमा बाल उद्यान सञ्चालन गरी चमेना गृह तथा रेष्टुरेण्ट, एसीसहितको चाइल्ड केयर सेन्टरलगायतका पूर्वाधार निर्माण गर्न भनिए पनि पाँचवटा स्वीट रुमसहित २० वटा एसीसहितको रुमको होटल, नौवटा क्याबिन, मदिरा विक्रीसहितको रेष्टुरेण्टलगायतका संरचना बनाएर सञ्चालन गरिरहेको छ । ती संरचना बनाउँदा प्रस्ताव पनि नगरपािलकामा नरहेको प्राविधिक शाखाले जानकारी दिएको छ ।

बाल उद्यानको साटो होटल सञ्चालन गरेको २२ जना शेयर होल्डर रहेको कम्पनीले सम्झौताअनुसार नगरपालिकालाई पहिलो पाँच वर्ष एक लाख २५ हजार वार्षिक (१० हजार चार सय १७ रुपैयाँ मासिक भाडा) बहाल भुक्तानी गर्नुपर्ने र पाँच वर्षको अन्तरालमा क्रमशः २५–२५ हजार बढाउँदै नगरपालिकालाई बहाल भुक्तानी गर्नुपर्ने सम्झौता छ । यसैगरी, निलम पटवाले सभागृह र चर्चेको क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले पहिलो पाँच वर्ष २ लाख (मासिक १६ हजार ६ सय ६७ रुपैयाँ भाडामा), त्यसपछिको पाँच वर्ष तीन लाख, त्यसपछि चार लाख र अन्तिम पाँच वर्ष पाँच लाख प्रतिमहिना बहाल लिने सम्झौता भएको छ । दुवै कर्पोरेट हाउसले २० वर्षको सम्झौता गरेका छन ।

पटवाले सभागृह र चर्चेको ठाउँ बहालमा लिएर १० वर्ष भित्र २ करोड बराबरको थप संरचना निर्माण गर्ने र शुभ ओम कम्पनीले एक करोड ३५ लाख बरारबरको विभिन्न संरचना निर्माण सम्झौता भएको पाँच वर्षभित्र निर्माण नगरपालिकामा नक्सा प्रस्ताव गरी बनाउनुपर्ने थियो । सिद्धार्थनगर नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले कुनै पनि संरचना बनाउँदा प्रस्ताव आउनुपर्ने बताए । नियम सबैलाई लाग्ने भन्दै उनले उनीहरुलाई कानुनी दायरमा ल्याउने बताए ।

पौवा होटलका प्रतिनिधि विष्णु ज्ञवालीले निर्माण भएको संरचनाको रिर्पोटबारे सिद्धार्थनगर नगरपालिकाका प्रविधिकलाई जानकारी गराएको बताए । नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा बनाएकोे संरचना आफूहरुले छाडेर गएपनि नगरपालिकाकै हुने बताउँदै उनले आफूहरु नियत कर नतिर्ने भन्ने नरहेको बताए । उनका अनुसार व्यवसाय दर्ताको लागि निवेदन दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।