सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा प्रहरी र स्थानीयबीचन झडप भएको छ । अवरुद्ध वीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोजेपछि दोहोरो झडप भएको हो ।झडपमा परी ११ जना प्रहरी घाइते भएका छन् । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
दोहोरो झडप हुँदा रोकी राखेका केही सवारी साधनमा समेत क्षति पुगेको छ । पिपलभन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई लक्षित गरी ढुङ्गा र खाली बोतल र दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले तलबाट केही राउन्ड अश्रुग्याँस र हवाइ फायर गरेको छ ।बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारबाही र क्षतीपूर्तिको माग गर्दै आज बिहानबाट सडक अवरुद्ध गरेका छन् । झडप रोक्न र अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।