(ABC=SANCHAR)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले बृहत घरदैलो गरेको छ । नेकपा एमालेबाट वडा नम्बर ९ की वडाअध्यक्षकी उम्मेदवार मिनाक्षी गुप्तालाई जिताउनका लागि नेकपा एमाले र लोसपाको गठबन्धनबाट मेयरका उम्मेदवार बिजय कुमार सरावगीले पनि वडाबासीसँग अपिल गरेका छन् ।
शिक्षित एवम् योग्य महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको हुँदा वडाबासीले सहयोग गरेर वडाअध्यक्षमा निर्वाचित गराउन निवर्तमान मेयरसमेत रहेका सरावगीले आग्रह गरेका हुन् । महिला वडाअध्यक्ष भएपछि वडाका महिलाहरुले आफ्ना समस्याहरु पनि खुलस्त ढंगले राख्न सक्ने भएकाले वडामा महिलालाई अध्यक्षमा निर्वाचित गर्नुपर्ने सरावगीको भनाई छ ।
वडाअध्यक्षकी उम्मेदवार गुप्ताले पनि आफु वडामा निर्वाचित भए महिलाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताइन् । आफुले नेतृत्व गरेको विद्यालयको उदाहरण दिँदै गुप्ताले अब वडाको पनि नेतृत्व गर्ने अवसर दिन वडाबासीसँग अपिल गरेकी छिन् ।