२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरी पबित्र संगठनमा सधैं वरीयताको विवाद किन हुन्छ ?

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । २०७५ को कात्तिकमा नेपाल प्रहरीका डीआइजी सुशील भण्डारीले दुर्घटनामा ज्यान गुमाए । व्यक्तिगत भ्रमणमा काभ्रे रहेका बेला गाडी पल्टिएर उनको मृत्यु भएको थियो । उनको मृत्युपछि प्रहरीमा डीआइजीको एक पद रिक्त भयो । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । रिक्त पदमा खनालकै ब्याचका एसएसपी वीरेन्द्र श्रेष्ठ एकल दाबेदार थिए ।

ब्याचका सबै जना माथिल्लो पदमा पुग्दा श्रेष्ठ मात्र एसएसपीमा रोकिएका थिए । त्यसकारण सो पदमा उनकै बढुवा हुने भएकाले अरुले चासो पनि राखेनन् । तत्कालीन आइजीपी खनालले पनि त्यही प्रस्ताव गृह मन्त्रालयमा राखेका थिए ।
तर, उच्च अधिकारीबाट आएको एउटा दबाबले खनाल तर्सिए । त्यतिबेला दुई ब्याच जुनियर रहेका विश्वराज पोखरेललाई जसरी पनि रिक्त डीआइजी पदमा बढुवा गर्नुपर्ने दबाब अख्तियार प्रमुखदेखि सर्वोच्चका निलम्वित प्रधानन्यायाधीशसम्मबाट आयो । सुरुमा त उनले रोके पनि तर, राज्यका सबै शक्तिकेन्द्र लागेपछि उनको केही लागेन ।

डीआइजी भण्डारीको मृत्युको फाइदा उठाएर पोखरेल जसरी पनि भावी आइजीपीको पद सुरक्षित गर्न चाहन्थे । जबकि, उनीभन्दा दुई ब्याच सिनियर र काबिल एसएसपीहरु त्यसका दाबेदार थिए । तत्कालीन आइजीपी खनालका ब्याचका श्रेष्ठ तथा शैलेश थापा क्षेत्रीको ब्याचका घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की लगायतलाई समेत उछिनेर पोखरेलको बढुवा गरिएको थियो ।

प्रहरी इतिहासमा बढुवामा यस किमिसको चलखेल कहिल्यै नभएको प्रहरी अधिकारी बताउँछन् । पोखरेललाई जसरी पनि आइजीपी बनाउन संगठनभित्रको सिष्टमलाई सबै शक्तिकेन्द्र मिलेर कुल्चिएका थिए । जसले प्रहरीमा ज्येष्ठता, वरीयता र चेन अफ कमाण्ड भन्ने विषयलाई ध्वस्त बनाएको थियो ।तत्कालीन केपी ओली सरकार पोखरेललाई भावी आइजीपीका रुपमा अघि बढाउन चाहन्थ्यो । त्यो घटनाले प्रहरीभित्र अनुशासन बिग्रन शुरु भएको थियो । त्यसको ६ महिनापछि उनकै लागि अर्काे निर्णय भयो । पोखरेलकै लागि प्रहरीमा एआइजीको दरबन्दी थप भयो । यसका लागि पोखरेलले देशका सबै जसो शक्तिकेन्द्र हात लिएका थिए ।

जबकि, त्यसबेला पनि उनीभन्दा सिनियर डीआइजीहरु धेरै थिए । त्यतिबेलाको निर्णयले प्रहरीका इमान्दार अधिकारीको मनोबल खस्कियो । २०७७ को मंसिरमा उनको एआइजीमा बढुवा भयो, उनी एआइजीमा समेत एकल बढुवा भएर डेढ वर्षपछिको आइजीपी पद सुरक्षित गर्न चाहन्थे । डीआइजी र एआइजी बढुवामा शक्तिकेन्द्रको आडमा जम्प हानेका पोखरेललाई शक्तिकेन्द्रले साथ दिए पनि भाग्यले भने साथ दिएन । उनी आइजीपी हुने बेला सरकार फेरियो ।

सरकार फेरिएपछि आफ्नो खास पृष्ठभूमि नेपाली कांग्रेस भएको भन्दै कांग्रेस नेताहरुलाई प्रभावमा पार्ने प्रयास गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा उनको विगतको चलखेल र कार्यशैलीबाट सन्तुष्ट हुन सकेनन् । यसअघिको बढुवामा अन्यायमा परेका र ब्याचमा तुलनात्मक रुपमा क्षमतावान मानिएका धीरजप्रताप सिंह देउवाको रोजाईमा परे । प्रहरीमा ओली सरकारले गरेको गल्तीलाई देउवा सरकारले सच्याएको व्याख्या गरियो ।

आइजीपी नियुक्तिलाई लिएर जहिले पनि सामान्य विवाद हुन्थ्यो । तर, विगतमा पोखरेलले बढुवामा चलखेलका आधारमा जम्प गरेकाले ब्याचमा एक नम्बरका एआइजी भए पनि उनलाई अन्याय भयो भनेर सहानुभूति राख्ने ठाउँसमेत भएन । किनकि, उनकै कारण संगठनमा धेरैमाथि अन्याय भएको थियो ।यदि, नियमित बढुवा हुन्थ्यो र ब्याचमा अग्रस्थानमा भएको भए उनी स्वभाविक आइजीपीका बलिया दाबेदार हुन्थे । तर, विगतमा शक्तिको आडमा जसरी उनले प्रहरी संगठनभित्र सिष्टम बिगारे, त्यो नै उनको लागि अहिले अभिषाप बनेको प्रहरी अधिकारी बताउँछन् । आइजीपी नियुक्तिको विवाद सर्वाेच्च अदालतमा विचाराधिन छ । आफू सिनियर भएकाले सिंहको बढुवा रद्द गरी आफूलाई आइजिपी बनाउनुपर्ने माग राखेर पोखरेलले सर्वाेच्चमा रिट दायर गरेका छन् । आगामी ३० जेठमा सो रिटउपर सुनुवाई हुँदैछ । आइजी बढुवा प्रकरण
२०६२/६३ पछि सरकारले ११ जना आइजीपी नियुक्त गर्याे । त्यसमध्ये ८ जना वरीयतामा पहिलो नम्बरमा रहेका भएका छन् भने तीन पटक महानिरीक्षक नियुक्त हुँदा वरीयताहेरफेर भएको छ ।२०६५ सालमा हेमबहादुर गुरुङपछि आइजीपी बढुवामा एआइजी रहेका रविन्द्रप्रताप शाह र रमेशचन्द ठकुरी आइजीपीका दाबेदार थिए । शाह पहिलो तथा ठकुरी दोस्रो नम्बरमा । सरकारले दोस्रो नम्बरका ठकुरीलाई रोज्यो । शाह राजीनामा दिने मनस्थितीमा पुगेका थिए, तर साथीहरुले रोके र ठकुरी सुडान काण्डमा निलम्बनमा परेपछि शाह पनि आइजीपी बने ।त्यसपछि आइजीपी भएका कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल आफ्नो ब्याचमा पहिलो नम्बरमै थिए । उनीहरुको बढुवा पनि नियमित थियो । संगठनभित्र पनि तुलनात्मक रुपमा क्षमतावान मानिएकाले कुनै विवाद पनि भएन । अर्यालको अवकाशपछि २०७४ सालमा महानिरीक्षक नियुक्तिमा महाभारत भयो । पहिलो नम्बरमा थिए नवराज सिलवाल । तर, सरकारले उनलाई मन पराएन । तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई आइजीपी बनायो । सिलवाल अदालत पुगे । अदालतले चन्दको आइजीपीको फुली त रोक्यो त सिलवाललाई आइजीपी बनाउन सकेन । करिब डेढ महिना प्राविधिक एआइजी डा. दिनेशचन्द्र पोखरेलले कामु महानिरीक्षकको रुपमा चलाएपछि सरकारले प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गर्याे ।अर्यालको अवकाशपछि पहिलो नम्बरमै रहेका सर्वेन्द्र खनाल आइजीपी भए । त्यतिबेला पुष्कर कार्की पनि प्रतिस्पर्धामा थिए ।

खनालको अवकाशपछि ठाकुर ज्ञवालीलाई आइजीपी नियुक्त गर्दा पनि कुनै विवाद भएन । ज्ञवालीपछि शैलेश थापा क्षेत्री विवादमुक्त रुपमा आइजीपी भए । क्षेत्रीको अवकाशपछिको आइजीपी नियुक्ति विवाद फेरि अदालत पुगेको छ । नियुक्तिमा हुने विवाद र मुद्दा मामिलाले प्रहरी संगठनलाई भने कमजोर बनाएको छ ।
एआइजी पोखरेल आएजीपीका लागि मुद्दा लडिरहेका छन् भने आइजीपी सिंह मुद्दा खेपेर संगठन चलाउनुपर्ने अवस्थामा छन् । बढुवामा वस्तुगत मूल्याङनको परिपाटी नहुँदा यस्तो अवस्था आएको हो । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]