
(ABC=SANCHAR)
विराटनगर । ढाट सुकुमबासी टोलकी ५८ वर्षीय मालसरी राईको आफ्नै घर छेउमै छ, सेनिटरी प्याड उत्पादन गर्ने उद्योग । उक्त उद्योगमा काम गर्न थालेको उनको १७ वर्ष भयो । जस्मिन हाइजिङ प्रोडक्ट प्रालिमा कार्यरत उनी यहींको कमाइले ४ जनाको परिवार पालिरहेकी छिन् ।
बूढीगंगा–१ मोरङकी अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष नै भयो । उनको कमाइबाट दुई छोरा पढिरहेका छन् । सासु ससुरा वृद्धवृद्धा भए । तर, अब उनलाई पनि सेनिटरी प्याड उद्योग बन्द भयो भने आफ्नो दुःख सुरु हुने भन्ने लाग्छ । ‘अहिले भएको यो जागिर पनि गयो भने मलाई धेरै समस्या हुन्छ,’ उनी भन्छिन् ।
राई र खड्का जस्तै सो उद्योगमा काम गर्ने झण्डै एक सय बढी महिला छन् । बिहान बेलुका आफ्नो घरको काम गरेर दिउँसो रोजगारी गरिरहेका उनीहरु सबैलाई उद्योग बन्द हुने डर छ । ‘जसरी हुन्छ, उद्योग चल्ने वातावरण बनाउनु पर्यो । नभए बिहान बेलुका छाक टार्न हामीलाई समस्या हुन्छ,’ सोही उद्योगमा मजदुरी गरिरहेकी बूढीगंगा–१ कै उमाकुमारी खड्काको भनाइ छ ।
अहिले सरकारले ल्याएको कर नीतिले उद्योग बन्द हुन सक्ने हल्ला ती मजदुरहरुको कानमा पनि परेको छ । ‘उद्योगमा काम गरेर घरखर्च चलाउन पाएका छौं । उद्योग बन्द भयो भने हाम्रो त विचल्ली हुन्छ । हाम्रो जग्गा जमिन पनि छैन, ऐलानीमा बसेका छौं,’ मालसरी राई भन्छिन्, ‘उद्योग बन्द भयो भने सडकमा आउँछौं, हामीलाई धेरै चिन्ता छ ।’