(ABC=SANCHAR)
दाङ । जिल्लाभरी केही समयदेखि अनियमितरुपमा विद्युत झ्याप्प–झ्याप्प आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित भएका छन् । कुनै जानकारी बिना यसरी घरी–घरी बत्ति आउने जाने गर्दा यस क्षेत्रका उपभोक्ता आजित भएका छन् । तुलसीपुरसहित आसपासका क्षेत्रहरुमा पाँच/पाँच मिनेटको अन्तरालमा बत्ति आउने जाने गर्दा यहाँका उपभोक्ताहरु आक्रान्त बनेका हुन् ।
घरी/घरी विद्युत काट्नुभन्दा प्राधिकरणले समयमै उपभोक्ताहरुलाई लोडसेडिङको तालिका सार्वजनिक गर्नु पर्ने उनीहरुको माग छ । अघोषित रुपमा लोडसेडिङले हैरान भएपनि शुक्रबार नेपाली कांग्रेसले विद्युत प्राधिकरण घोराहीका प्रमुखलाई लालटिन उपहार दिएको थियो ।
विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले कि त यो समयमा लोडसेडिङ हुन्छ भनेर हामी उपभोक्ताहरुलाई जानकारी दिनु पर्यो, होइन भने बत्ति के कारणले जान्छ त्यो समस्या समाधान हुनु पर्यो तुलसीपुरकी सरिता शाहले भनिन् । विद्युत प्राधिकरणले यो समयमा बत्ति जान्छ भनेर जानकारी दिएमा आफुहरुले त्यहीअनुसारको तयारी गर्ने बताउँदै उनले विद्युत प्राधिकरणले केही जानकारी बिनै बत्ति काट्नाले झनै समस्या भएको गुनासो गरिन्् ।
गर्मी महिना सुरु भएको समयमा दिनमा १५/२० पटकभन्दा बढी झ्याप्प–झ्याप्प लाइन जाने आउने हुँदा सञ्चालनमा रहेका विभिन्न विद्युतीय उपकरण र फ्रिजमा राखिएका खानेकुरा समेत बिग्रने अवस्था आएको उपभोक्ताको गुनासो छ । त्यसका साथै स्कुल समय बाहेक बिहान साँझ घरमा अध्ययन गर्ने विद्यार्थी तथा सञ्चार माध्यमहरुलाई समेत समस्या हुने गरेको छ ।
यसै क्रममा शुक्रबार शिक्षक भागवत भट्टराईले तुलसीपुर क्षेत्रको विद्युत नियमित बनाउन तर्फ सम्बन्धित निकाएले ध्यान दिनु पर्ने भन्दै सामाजिक सञ्जालमा लेखे । ‘पाँच/पाँच, दश/दश मिनेटमा आउने जाने विद्युतको के रवैया हो ? विद्युत अनियमित कहिलेसम्म ? तुरुन्त सम्बन्धित निकाएको ध्यान जाओस्’ उनले फेसबुकमा लेखेका छन् । यसरी विद्युत अनियमित भई रहँदा तुलसीपुर उद्योग वाणिज्य संघले कुनै चासो नदिएको भन्दै कतिले गुनासो समेत गरेका छन् ।
यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञान बहादुर पर्सालले भने बिहीबार रातीको हावाहुरीसहित परेको पानीले गर्दा केही स्थानमा पोल ढलेको कुनै स्थानमा विद्युतको तारहरुमा रुखका हाँगाहरु भाँच्चिएर अड्किएको र त्यसको मर्मत भई रहेको हुँदा घरी÷घरी विद्युत आउँने जाने समस्या बढेको बताए । ‘अहिले पनि हावापानीले क्षति गरेको स्थानमा मर्मतको काम भइरहेको छ, सबै स्थानको मर्मतको काम सकिएको हुन्छ बर्खाको समय छ, फेरीसमय छ, फेरी हावाहुरी पानी आउँछ र उही समस्या दोहोरिन्छ त्यसैले विद्युत जाने आउने समस्या आएको हो’ प्रमुख फर्सालले भने ।
अन्य समयको तुलनामा बर्खाको समयमा विद्युत लाइनमा समस्या बढी आउने बताउँदै उनले यो समयमा विद्युत उत्पादन र खपतको सन्तुलन नमिल्ने भएकाले अझ समस्या आउने गरेको जानकारी दिए । ‘उपभोक्ताहरुले विद्युत प्राधिकरणले लाइन काटेको हो भन्नु हुन्छ, हामी त लाइन नकाटेर उपभोक्ताको धन्यवादको पात्र बन्न चाहान्छौ, केही समस्या नभएर लाइन काँटिदैन’ उनले भने, ।
समस्या भएको स्थानमा मर्मतको काम भइरहेकाले गएको बिहीबार र शुक्रबारको तुलनामा शनिबारदेखि विद्युत जाने समस्या कम भएको प्रमुख फर्सालले जानकारी दिए ।
वाणिज्य संघको अगुवाइमा डेलिगेसन
यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर क्षेत्रमा केही समयदेखिको अनियमित विद्युत कटौति भएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा डेलिगेशन जाने निर्णय गरेको छ । अनियमित विद्युत सेवाका बारेमा तुलसीपुर उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आइतबार उद्योगी, व्यापारी, व्यवसायीसहित वाणिज्य संघको अगुवाइमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपरमा डेलिगेशन गएको थिए ।