
(ABC-Sanchar)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन–चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् । प्रधानमन्त्रीले अन्य मन्त्रीको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय नियमित अनुगमन तथा कार्यसम्पादन मूल्यांकन गर्न नसक्दा सरकारका अधिकांश कामकाज ‘भद्रगोल’ अवस्थामा पुगेका छन् ।
यसअघिका सरकारका प्रधानमन्त्रीले मन्त्री र सचिवलाई नियमित रूपमा बोलाएर अन्तक्र्रिया गर्दै ‘प्रभावकारी रूपमा काम गर्न निर्देशन दिने’ गरेका थिए । तर, देउवा प्रधानमन्त्रीका रूपमा आएपछि एक वर्षको अवधिमा सचिवसँग एकपटक मात्रै छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार देउवाले मन्त्री तथा सचिवको कार्यसम्पादनको अवस्थासमेत राम्ररी बुझ्ने प्रयास नै गरेका छैनन् । यसले गर्दा मन्त्री र सचिवमा ‘जे गरे पनि हुने’ प्रवृत्ति विकास हुँदै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी नै बताउँछन् ।
सो कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले सरकारी कार्यालयमा बसेर गर्नुपर्ने नियमित प्रशासनिक कामसमेत बालुवाटारमै बसेर गर्न थालेका छन् । उच्चपदस्थ कर्मचारी तथा प्रहरी सरुवा बढुवालगायत विषयमा विशेष रुचि राख्ने बालुवाटारले विकास निर्माण तथा सेवा प्रवाह प्रभावकारी बनाउने’ विभिन्न ‘मोडल’’भने कहिल्यै ध्यानै नदिएको प्रधानमन्त्री कार्यालयका अधिकारीको गुनासो छ ।
सो कार्यालयमा सचिवहरूले हेर्नेगरी विभिन्न क्षेत्र निर्धारण गरिएका छन् । ती क्षेत्र हेर्ने सचिवसँग समेत प्रधानमन्त्रीले खासै सल्लाह लिने गरेका छैनन् । जसका कारण विभिन्न क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सचिवले पनि ‘कामचलाउ’ रूपमा अनौपचारिकता भूमिका निर्वाह गर्ने गरेको बताइन्छ । राजधानी दैनिकबाट