२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बनेन चितवन र तनहुँ जोड्ने पुल

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरू भएको आठ वर्ष भयो। निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

पुल निर्माण अलपत्र अवस्थामा छ। बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ।

निर्माणका क्रममा पुल दुईपटक भत्कियो। सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए। पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन।

पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताए।

उनले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गरे।

‘निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौं’, उनले भने, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौं तर पुल निर्माणले गति लिन सकेन।’

उनले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताए।

पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उनले चेतावनी दिए।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताए।

उनले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताए।

देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताए।

यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उनले बताए। पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरूङको भनाइ छ।

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ। डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०/४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ। चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ।

त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन्। सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपथ्र्यो। तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ। यो बीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ।

सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताए।

उनले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरू गर्न नसकिएको बताए।

‘भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्‍यो’, उनले भने, ‘यो बीचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन।’

सम्झौता हुँदा पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!