रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ।
बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ।
पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्।
´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी पछ्याउँदै आएर गाडी राेकी म र मेराे गाडीमा आक्रमण गरे,´ उनले भने।
आक्रमणबाट वडा अध्यक्ष पाण्डे घाइते भएका छन्। उनको गाडीकाे अगाडिकाे सिसा फुटेको छ।
ईलाका प्रहरी कार्यालय रन्यौराले वडा अध्यक्ष पाण्डेमाथि आक्रमण गर्ने सैनामैना-२ का कसिस श्रेष्ठ, सैनामैना ४ का राजन कालामगर र सैनामैना ५ का अर्जुन भुसाललाई नियन्त्रणमा लिएकाे जनाएको छ।
पाण्डेमाथि आक्रमण गर्नेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।रास्स