लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी तीव्र पारेका छन् । आफ्नो कार्यकाल सकिन लाग्दा जतिसक्दो छिटो राजधानी सार्ने जोडबलमा मुख्यमन्त्री केसी छन् । मुख्यमन्त्री केसीको निरन्तर दबाबपछि प्रदेशको स्थायी राजधानी निर्माणको कामलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा अगाडि बढाएको छ । निर्वाचन सकिए लगत्तै कामलाई तीव्रता दिन मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् ।लुम्बिनी प्रदेशसभाले आफ्नो राजधानीको स्थायी मुकाम र नामकरण बहुमतका साथ २०७७ साल असोज २० गते पारित गरेको थियो । हालै सम्पन्न निर्वाचनको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानी फिर्ता ल्याउन सकिने बताएपछि झस्किएका प्रदेश सरकारका मुख्यमन्त्री केसी जतिसक्दो छिटो स्थायी संरचना बनाएर राजधानी सार्ने चटारोमा छन् ।जग्गा एकीकरण, जमिन प्राप्त, राप्ती टेक्निकल विश्वविद्यालय लगायतका प्रक्रियागत कार्यले राजधानी सार्न केही ढिलाई हुन पुगेको मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंङ विक बताउँछन् । प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले अहिले स्थायी संरचना निर्माणका काम तीव्र रुपमा अघि बढेको बताए ।
आफ्नो कार्यकालमै राजधानी दाङ सार्ने मुख्यमन्त्री केसीको प्रतिवद्धता भएकोले मुख्यमन्त्री तथा परिषद्को कार्यालय र अन्य मन्त्रालय सञ्चालनका लागि तयारी गरिएको पोख्रेलले उल्लेख गरे ।
मन्त्रालयहरूका संरचनागत काम नयाँ प्रदेशसभा सदस्यहरुले सपथ लिने समयसम्म पूरा गर्ने गरी काम थालिएको पोखरेलको भनाइ छ । मुख्यमन्त्री केसीले निर्माण स्थलमै पुगेर काम छिटो गर्न निर्देशन दिने गरेको पोखरेलले बताए ।