
(ABC-Sanchar)
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई बधाई र शुभकामना दिने क्रम रोक्नका लागि आफ्ना शुभचिन्तक र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । गृह मन्त्रालयमा कानुन बमोजिम हुने कामका लागि मन्त्रीलाई भेट्नु नपर्ने भन्दै उनले फूलमाला, खादा र गम्छा लगाइदिने शिलशिला रोक्नका लागि आग्रह गरेका हुन् ।
यस्तै, मन्त्री लामिछानेले सेवाग्राहीका हरेक समस्या सम्बोधन गर्न आफ्नो मन्त्रालयका कर्मचारीहरू योग्य, सक्षम र प्रतिबद्ध रहेको पनि बताएका छन् । साथै आफ्नो कामको तारिफ गर्न कन्ज्युस्याइँ गर्दै दिल खोलेर खबरदारी गर्न पनि उनले आग्रह गरेका छन् । लामिछाने गृहमन्त्रीमा नियुक्त भएपछि फूलमाला र खादा लगाउँदै बधाई दिन जानेहरूको क्रम बढेपछि उनले शुक्रबार आफ्नो फेसबुकबाट यस्तो आग्रह गरेका हुन् ।
‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला,’ लामिछानेले भनेका छन्, ‘अब भेटघाट, फूलमाला, खादा, गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंका हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन्। हामी हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यसकारण नहुने भनेर सेवा दिने तयारीमा छौं।’