२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।

राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समिति गठन नहुँदासम्म सर्वदलीय बैठकले संसदको कार्यसूची तय गर्ने अभ्यास छ ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार २२ गतेको सर्वदलीय बैठकको मुख्य एजेण्डा प्रतिनिधिसभा नियमावली नयाँ बनाउने कि पुरानै स्वीकार गरेर जाने, प्रधानमन्त्रीले विश्वासको मत लिने र सभामुखको निर्वाचन हो ।

संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार दलहरुका बीचमा सहमति भए प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सभामुखको निर्वाचनको सूचना जारी हुनेछ ।

२६ गते नै सभामुखको निर्वाचनको सूचना जारी भएको अवस्थामा यही महिनाभित्र संसदले सभामुख पाउँछ । २७ गते पृथ्वी जयन्ती छ । यस दिन सार्वजनिक बिदा दिनुपर्ने सत्ता साझेदार दल राप्रपाको माग छ । २७ गते सार्वजनिक बिदा दिइएमा २८ गते सभामुखका लागि उम्मेदवारी दर्ता र २९ गते निर्वाचन हुनेछ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार सभामुखको निर्वाचनका लागि कम्तिमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने र तेस्रो दिन निर्वाचन हुने छ ।

२५ पुसबाट प्रतिनिधि सभाको बैठक सुरु हुने भएकाले सभामुखको निर्वाचनका लागि माघ १० गतेसम्मको समय छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!