धनुषामा एक महिलाको शव फेला परेको छ।
जनकनन्दिनी गाउँपालिका-१ का मनोज यादवको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए।
खेतमा रहेको रूखमुनि मंगलबार दिउँसो ती महिलाको शव फेला परेको हो। भारतको विहार घर भएकी ५५ वर्षीया अहलिया देवीको शव फेला परेको हो।
उनको झोला पनि फेला परेको थियो। जसमा सानो चिटमा फोन नम्बर पनि फेला परेको थियो। उक्त नम्बरबाट उनको पहिचान खुलेको डिएसपी क्षेत्रीले बताए।
उनको मृत्युबारे आफन्तहरूलाई समेत जानकारी गराइसकेको छ।डिएसपी क्षेत्रीका अनुसार उनी भारतमा केही दिनदेखि हराइरहेकी थिइन्।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट उनी रेल चढेर नेपाल आएको देखिएको छ।
उनको चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको देखिएको डिएसपी क्षेत्रीले बताए। यद्यपि पोष्टमर्टमबाट थप खुल्ने उनले बताए।शवको पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।