२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पूजा सिंहको बिदाइ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०५, २०७९

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंह सेवानिवृत्त भएकी छन् । मानवस्रोत विकास विभाग प्रमुख रहेकी एआईजी सिंह उमेरहदका कारण अवकाशमा जान लागेकी हुन् ।

उनलाई शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बिदाइ गरेका छन् ।

सेवानिवृत्त एआईजी सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षे उमेरहदका कारण उनी फागुन ७ गते अवकाश हुनेछिन्।

उनको अवकाशसँगै नेपाल प्रहरीमा पाँच एआईजी पद रिक्त हुनेछ । यसअघि चार एआईजी पद रिक्त छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गृह मन्त्रालयको कार्यभार सम्हालेसँगै एआईजी बढुवाका दाबेदारहरू उनका आफन्त र निकट तथा माओवादी केन्द्रका प्रभावशाली नेताहरूलाई आफैं र स्रोतमार्फत रिझाउन तल्लीन भएका छन् । यसपटक बढुवामा पर्ने एआईजीलाई भावी महानिरीक्षकको प्रबल दाबेदारका रूपमा हेरिएका कारण समेत यो बढुवा महत्त्वपूर्ण मानिएको छ ।

तर, अघिल्लो सरकार र प्रहरी संगठनको आवश्यकताअनुसार हालकै महानिरीक्षक धीरजप्रताप सिंहको निरन्तरतासहित प्रहरी ऐन संशोधनको प्रयाससमेत भइरहेको तथा सत्ता गठबन्धन फेरबदलको ‘वायु’ समेत चलेका कारण एआईजी बढुवा कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन ।

यसअघिको सरकारले एआईजी बढुवाका लागि निर्वाचन आयोगसँग सहमति लिएर निर्वाचन आचारसंहिताकै बीच बढुवाको हल्ला व्यापक भएको थियो । तर, त्यसले मूर्तता पाउन सकेन ।

नेपाल प्रहरीका एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त छ। एआईजी पोखरेलले २०७९ साउन २०, आचार्यले भदौ २३, बीसीले कार्तिक १४ र धानुकले कार्तिक २४ मा अवकाश पाएका थिए। यस्तै एआईजी पुजा सिंहको अवकाशपछि यो रिक्त पद पाँच हुनेछ ।

प्रहरीमा २०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा  बढुवाको प्रमुख दाबेदार रहेका छन् ।

यस्तै डीआईजी किरण बज्राचार्य, मीरा चौधरीसहित भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली, सुदीप गिरि, रामदत्त जाेशी, पाेषराज पाेखरेल, बुद्धिराज गुरुङ, सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन्।

पाँच पदमा बढुवा गर्दा प्रहरीको उच्च नेतृत्वमा महिला अधिकारीसमेत लैजाने इच्छा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रहेको छ । उनले समावेशिताका आधारमा महिला, जनजाति र मधेसी तथा थारू समुदायको प्रतिनिधित्वमा इच्छा राखेका कारण चार महिलामध्ये एक वा दुई एआईजीमा बढुवा हुन सक्नेछन् । यदि उनीहरूको कार्यसम्पादन मूल्यांकन बढुवा प्रतिस्पर्धाका लागि योग्य भएमा फेरि एकपटक प्रहरीको उच्च नेतृत्वमा महिला हुनेछन् ।

हाल रिक्त ५ वटा एआईजी पदमा बढुवा हुन आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेटहरू डीआईजी मसाउद आलम खाँ, डीआईजी नलप्रसाद उपाध्याय र डीआईजी मोहनकुमार आचार्यसमेत सक्रिय छन् । उनीहरू ऐन संशोधन भए वा नभए एक महिनाका लागि भए पनि एआईजी बनेर अवकाश हुनका लागि लबिङ गरिरहेका छन् ।

प्रहरीमा भर्ना वरीयतामा अघि रहे पनि यी तीनै जनाको कार्यसम्पादन मूल्याकंन र व्यावसायिक आचरण अब्बल नरहेको संगठनभित्र चर्चाको विषय बनिरहेको छ ।

महानिरीक्षक सिंह र संगठनले भावी नेतृत्वमा पुग्नेहरूमध्ये अब्बल पाँच जनाको बढुवाको चाहना राखेको छ ।

यता गृहसचिव विनोदप्रकाश सिंहले आफ्ना नातेदार पर्ने डीआईजी अशाेक सिंहको बढुवा गर्न तीव्र लबिङ गर्दै आएको गृह मन्त्रालय स्रोतको दाबी छ ।

उनको बढुवाका लागि गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय बालुवाटारसम्मका शक्ति केन्द्रमा दौडधुप चलिरहेको छ । गृहसचिव सिंह नै नातेदार बढुवाको चलखेलमा लागेको भन्दै बढुवाका अन्य दाबेदार उच्च प्रहरी अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।

एआईजीको स्वाभाविक दाबेदारमा सिंहभन्दा अघि डीआईजी वसन्तबहादुर कुँवर र टेकप्रसाद राई छन् भने सिंह तेस्रो नम्बरमा छन् । उनीपछि डीआईजी दीपक थापा छन् ।

प्रहरी संगठनमा कमाण्ड, व्यावसायिकता, इमानदारिता र कार्यसम्पादनमा सिंहभन्दा कुँवर, राई र थापा अब्बल मानिन्छन् । डीआईजी सिंह काठमाडौं प्रहरी प्रमुख रहँदा होस् वा एसपी भएका बेला आर्थिक लेनदेन विवादमा परेका अधिकृत हुन् ।

वरीयतामा एक नम्बरमा रहेका कुँवर, दोस्रोमा रहेका राई र तेस्रो स्थानमा रहेका सिंह एकै ब्याचका हुन् । उनीहरू ५ चैत २०५१ मा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए । चौथो स्थानका थापा एकै ब्याचका भए पनि उनले १९ भदौ २०५२ मा नियुक्ति पाएका थिए । २०५१ मा सेवा प्रवेश गरेकाहरू आईजीपी बनेमा २०८१ को चैतसम्मको कार्यकाल रहने छ ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वराज पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी डीआईजी र एआईजीमा बढुवा गरेको थियो । तर, सरकारबाट ओलीको बहिर्गमन र शेरबहादुर देउवाको प्रवेश भएसँगै पोखरेलले आईजीपी बन्ने सौभाग्य पाएनन् । देउवा सरकारले एआईजीमा अन्य अधिकारीको बढुवा गरी धीरजप्रताप सिंहलाई आईजीपी बनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।