(ABC-Sanchar) बाँके । जिल्लाको ऐतिहासिक नगरी नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव शाहलाई नागरिकद्वारा भब्य रुपमा अभिनन्दन गरिएको छ ।
नेपालगन्जको बाँके बगिया मैदानमा नागरिकहरुद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि आयोजना गरिएको नागरिक अभिनन्दन समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा राज परिवारका सदस्यलाई भब्य रुपमा स्वागत गरिएको छ ।
पूर्व राजा शाहले “आज नेपालमा यो ऐतिहासिक औद्योगिक र व्यापारिक महत्वको नेपालगन्ज नगरमा आएर तपाईहरुलाई भेट्न पाउँदा मलाई खुशी लागेको छ । यो अवसर दिनु हुने आयोजक तथा उपस्थित जनसमूहप्रति अभार व्यक्त गर्दछु । बाँके, बर्दिया, कञ्चनपुर, कैलाली हामीबाट केही समयको लागि कालान्तरमा गुमेको पनि हो” उहाँले स्मरण गर्दै बताउनुभयो । उहाँले अगाडी थप्दै भन्नुभयो अन्त्यमा बाँके, बर्दिया, दाङ जस्तो उर्बर जस्तो भूभाग र सुर्खेत, हुम्ला, धनगढी, जुम्ला, जस्तो पहुँच केन्द्र भएको नेपालगन्ज ठूलो व्यापारिक, वितरण केन्द्र मानिन्छ । तर जुन रफ्तारमा यसको विकास हुनु पर्ने हो त्यो भईरहेको छैन” उहाँले बताउनुभयो ।
यसैगरी, नागरिक अभिनन्दन समारोहका संयोजक तथा बाँके क्षेत्र नं. २ का सांसद डा. धवलशमशेर राणाले भन्नुभयो – “आज यो विशाल उपस्थितिले के भनिराखेको छ ? नेपाली जनताले राजालाई मान्छन् ? नेपाली जनताले राजालाई खोजेका छन् ? नेपाली जनताले यो डुब्न लागेको देशलाई बचाउने माग हो । यो नागरिक समारोह हो, हामी यहाँ सबै जातजातीका सबै धर्मका व्यक्तिहरु सहभागी रहेको अवस्थामा राजा सबैको साझा हुन, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हामीले फर्काउने प्रतिबद्धता गरेका छौं,” बताउनुभयो । सांसद डा. राणाले अगाडी थप्दै भन्नुभयो – “यो राष्ट्रमा सबै जातजाति धर्म सामुदायलाई पूर्ण स्वतन्त्रता रहेको छ । तर विश्वमा एक मात्र हिन्दु राष्ट्र हटाउन षडयन्त्र भएको रहेछ । यो देशलाई संघीयता सुहाएन । यो देशमा राजतन्त्र थियो र आउने दिनमा नेपाली जनताले फेरी ल्याउने छन् भने हामीलाई विश्वास छ । हामीले त्यस्तो खोजेको होइनौं, हामीले बेलायत जस्तै खोजेका छौं । हामीले राजालाई राजनीतिमा ल्याउन खोजेको होइनौं, यो हेक्का रहोस आजभोलि नेताहरुले चाहिए नचाहिएका टिकाटिप्पणीहरु गर्न थालेका छन् । आफ्नो कमी लुकाउनका लागि अरुलाई दोष दिई रहेका छन् । राजा कसैको कुनै पार्टीको विरोधी होइनन्, राजा सबैसँग सहकार्य गर्न चाहेका छन् । हामी एउटा सकारात्मक विचार लिएर अगाडी बढेका छौं,” भनी बताउनुभयो ।सांसद डा. राणाले अगाडी थप्दै –
“यो राष्ट्रलाई परेको संकट राजसंस्थाले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास हामीले लिएका छौं । जनतालाई भेट्ने, पुजाआजा गर्ने र आफ्नो कुरा गर्ने सबैको मौलिक अधिकार हो, त्यसैगरी राजाको पनि जनतालाई अनुमोदन गर्ने मौलिक अधिकार हो । यो नागरिक अभिनन्दन समारोह हो, यो सबैको हो । यो भन्दा बढी बोल्न चाहदैन” भन्नुभयो ।पूर्व राजा ज्ञानेन्द्र शाहको आगमन साथ “राजा आओ देश बचाऔ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारा छन्” जस्तो नारा लगाएर सहभागी सर्वसाधारणहरुद्वारा भब्य रुपमा स्वागत गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विभिन्न संघसंस्थाहरुद्वारा पूर्वराजा शाहलाई विभिन्न मायाको चिनो सहित नागरिक अभिनन्दनपत्रद्वारा सम्मान गरिएको थियो । बाँके जिल्लाको पहिचान अवधी भाषी स्वागत मन्तब्य राख्दै अवधी भाषी कृष्ण देवी पाण्डेले पूर्वराजा तथा हिन्दू हृदय सम्राट ज्ञानेन्द्र शाहलाई स्वागत गरेकी थिईन । यसैगरी, बाँके जिल्ला क्षेत्र नं. २ राप्रपाका महामन्त्री एवम् सांसद डा. धवलशमशेर राणाद्वारा मायाको चिनो स्वरुप नागरिक अभिनन्दन पत्र भेट प्रदान गरिएको थियो । यसैगरी ठकुरी समाजका बलराम शाह, कशौधन वैश्य समाजबाट नन्दलाल वैश्य, नेपाल विदत परिषद बाँके विवेक महाजन, मारावाडी सेवा समितिबाट संजय अग्रवाल, ठाकुरद्वारा श्री गुरुनानक देव सिंहबाट मघई सिंह सरदार, नारी विकास केन्द्रका अध्यक्ष बिना श्रेष्ठ, सर्वदा साहित्य संगम खर्गेन्द्र गिरी कोपिला, ब्रम्हकुमार ईश्वरीय महाविश्व विद्यालयबाट दुर्गा दिदी, गणेश मन्दिर संरक्षण समितिबाट सविन्द्रमान श्रेष्ठकी श्रीमति पवित्रा सुब्बा, नागरिक अभिनन्दन समारोहका बिन्दु चरती मगर, नागरिक अभिनन्दन स्वास्थ्य उपसमितिबाट इन्द्र शाही, मुस्लिम समुदायका तर्पmबाट सलाऊद्दीन जसगढ, बुद्धिष्त धर्म गुरु गुरबहादुर लामा, कृष्ण प्रसाद बासतोला, दंगाली समाजका तर्फबाट भरत केसी, मानव धर्म सेवा समितिका तर्फबाट महत्मा चाँदनी वाईबी, नेपाली उपभोक्ता मञ्जको तर्फबाट डा. बिनोद कर्ण, जय गुरुदेवका तर्फबाट ओमप्रकाश थारु, नेपाल आर्य समाजका तर्फबाट राजुमान श्रेष्ठ, फुलबारी संस्था प्युठानका तर्फबाट शोबहादुर बस्नेत, अलोककुमार गुप्ता, राष्ट्रिय शक्ति नेपाल मध्यपश्चिमाञ्चलका तर्फबाट आशा कार्की, शिवसेना नेपालका तर्फबाट मंगल घर्तीमगर लगायतबाट अभिनन्दन पत्र प्रदान गरी सम्मान गरिएको थियो ।