२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली भुटानी शरणार्थी प्रकरण थप एक नेता टेकनाथ रिजाल पनि हिरासतमा

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नीति निर्माण तहमा प्रभाव पारेको आरोपमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन्। प्रहरीले उनलाई झापाबाट पक्राउ गरी बिहीबार साँझ काठमाडौं ल्याएको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुलेको गिरोहका नाइकेहरूको प्रलोभनमा परी रिजालले शरणार्थीसम्बन्धी अध्ययन कार्यदल बनाउन विभिन्न राजनीतिक दलका नेतासँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापासँग भेटी लबिङ गरेको र अनुचित आर्थिक लाभ लिएको पाइएपछि उनलाई पक्राउ गरिएको हो।

गिरोहका नाइके केशव दुलाल, सानु भण्डारीलगायतले गृह मन्त्रालयका सचिव र मन्त्रीलाई भेटेर कार्यदल गठनमा लबिङ गर्न शरणार्थी नेता रिजाललाई प्रयोग गरेका थिए। पक्राउ परेका दुलाल र भण्डारीले बयानका क्रममा रिजालको पनि नाम लिएपछि अनुसन्धान उनीतर्फ मोडिएको हो। अदालतबाट अनुमति लिएर काठमाडौं प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार तेस्रो देश पुनस्र्थापनामा छुटेका करिब ६ हजार ५०० शरणार्थीको व्यवस्थापनका लागि रिजालले पहल गरेका थिए। तेस्रो देश पुनःस्थापनामा छुटेका शरणार्थीको व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्ने भन्दै उनले तत्कालीन गृहमन्त्री थापालाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका थिए।

त्यस्तै रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (हाल प्रधानमन्त्री), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री एवं अहिले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई पनि भेटेर शरणार्थीका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। रिजालले लबिङ गरिरहेकै बेलामा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पनि दबाब दिएपछि तत्कालीन गृहमन्त्री थापाले बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि स्थायी र दीर्घकालीन उपाय पहिल्याउन कार्यदल गठन गरेका थिए
पन्थी कार्यदलले बुझाएको प्रतिवेदनलाई तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको सहयोगमा गिरोहका सदस्यले किर्ते गरेका थिए। उनीहरू सक्कली प्रतिवेदन आफूले लिई अर्को प्रतिवेदन मन्त्रालयमा राखिदिएका थिए। कार्यदल बनाउन रिजालको पनि सहयोग पाएपछि गिरोहका सदस्यले उनलाई ७ लाख रूपैयाँ दिएको स्रोतको दाबी छ। गिरोहका सदस्यले प्रतिवेदनलाई आधार मानेर दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउन थालेका थिए। यस विषयमा प्रहरीले अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पक्राउ गरिसकेको छ। प्रहरी स्रोतका अनुसार भुटानी शरणार्थी नेता रिजालले केही समयअघि गिरोहका सदस्यले शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै रकम उठाइरहेको थाहा पाएपछि राजनीतिक दलका नेताहरूलाई भेटेर ध्यानकर्षण पनि गराएका थिए। यसअघि पक्राउ परेकाले बयानका क्रममा रिजालको नाम लिएपछि उनी पनि अनुसन्धानको दायरामा तानिएका हुन्। उनलाई नेपाल सरकारले मासिक १ लाख रूपैयाँ तलब, ड्राइभरसहित गाडी सुविधा दिएको थियो।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलोपटक तीन जनालाई पक्राउ गरेको थियो। संगठित अपराध मुद्दामा प्रहरीले हिरासतमा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। ६० दिनभित्र प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पुर्याउनुपर्छ। सुरुमा पक्राउ पर्नेमा ललितपुरका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरेका केशवप्रसाद दुलाल र ललितपुर बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए। त्यसपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परे। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परे। एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि २० गते साँझ बुटवलबाट सन्दीप पक्राउ परे। छोरा समातिएको खबर पाएपछि रायमाझी फरार भए। वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङका गोविन्द चौधरी र २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि सोही दिन पत्राउ परे। ११ दिन फरार रहेका टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परे। त्यसैगरी जेठ १ गते पूर्वसभासद एवं कांग्रेस नेता आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरे। जेठ ४ गते नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता रिजाल पक्राउ परे। पक्राउ पुर्जी जारी गरिएपछि इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापाका छोरा प्रतीक फरार छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]