२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पत्रकारलाई बोलाएर थर्काउने टिकापुरका डिएसपी उद्धवसिंह कारवाहीमा झनै तनावमा

Logo
प्रकाशित बिहिबार, जेठ २५, २०८०

 

(राजन थारु)

धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्धवसिंह भाट कारवाहीमा परेका छन् । साढे तीन महिना अघि दरबन्दीमा टीकापुर सरुवा भई आएका भाटलाई प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा गण नवलपरासी काज सरुवा गरेको छ । उनको स्थानमा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरबाट डिएसपी तुल्सीराम अर्यालको काज सरुवा भएको छ ।

दरबन्दीमा परेर इलाकामा आएका कुनै पनि इन्चार्ज कम्तीमा एक वर्ष बस्ने परम्परा रहेको छ । तर, साढे तीन महिनामै काज सरुवा हुनुलाई डिएसपी भाटमाथि विभागीय कारबाही भएको भनि बुझिएको छ ।

उनी टीकापुर आएदेखि नै विवादित भएका थिए । उनले सीमा पारीको व्यापारमा संलग्न व्यवसायीहरूसंग हप्ता असुलीमा जोडबल गरेको, मातहतका प्रहरी युनिटहरूलाई महिनावारी बुझाउन दवाव दिएको, प्रहरीलाई घुस बुझाएमा भन्सारमा राजस्व तिर्नु नपर्ने भन्दै सीमानामा हुने तस्करीलाई प्रशय दिएको, कार्यालयभित्र अछामी समुदायका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको, जात र भेगको आधारमा पेलेको भन्दै प्रहरी प्रधान कार्यालयमा निवेदन परेको थियो ।

भाट विरुद्धको निवेदनमा उल्लेख आरोपमाथि अनुसन्धान र छानविन गर्न प्रहरी महानिरीक्षक वसन्त कुवरको निर्देशनमा प्रहरी उपरीक्षक नेत्रमणि गिरीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनेको थियो ।

समितिले टीकापुरका विभिन्न सामाजिक व्यक्ति, संस्था, प्रहरी कर्मचारीहरू र भन्सारका कर्मचारी तथा व्यवसायीसँग डिएसपी भाटमाथि लागेका आरोपबारे बुझेर प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनका आधारमा डिएपी भाटमाथि कारबाही स्वरुप काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय श्रोतले बताएको छ ।

कार्यसम्पादनमा कमजोर देखिएकोले जिम्मेवारी परिवर्तन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना वरिष्ठ प्रहरी अधिकारीले बताए ।

नागरिकस्तरबाट लिखित र मौखिक रुपमा धेरै गुनासा आउन थालेपछि उक्त स्थानको इन्चार्जबाट हटाइनु स्वाभाविक भएको ती अधिकारीले बताए । भाट यसअघि अछाम, बाजुरा र सर्लाहीमा कार्यरत रहँदा धेरै विवादमा आएका थिए ।

भाट हालसम्म जुनजुन ठाँउमा इन्चार्ज रहे ती ठाउँमा सर्वसाधारणलाई आतंकीत बनाउने काम मात्र गरेको बताइन्छ । कमजोर वर्गकालाई सताउने, दबाउने र उच्च वर्गको हदैसम्मको चाकरी चाप्लुसी गर्ने प्रवृत्तिका कारण भाट पटक पटक विभागीय कारबाहीमा पर्दै आएका छन् ।

टीकापुरमा साढे तीन महिनामा उनले सय बढी सर्वसाधारणलाई कुटेको, पेस्तोल नाल छातीमा लगाई गोली हान्दिउ भनी धम्क्याएको र मध्यराति सर्वसाधारणका घर पसलमा छिरेर गाली बेइजती गरेको विषय चर्चामा छ ।

राती ९ बजेपछि सडकमा हिडन स्वघोषित प्रतिवन्ध लगाएका भाटका कारण सर्वसाधारणले अशान्ति महसुस गरेको गुनासो गर्दै आएका थिए । राती ९ बजे बाटो वा घरको आगनमा भेटिने जो कोहीलाई पनि पक्राउ गरेर थुनामा राख्ने भाटको शैली संकटकालको जस्तो भएको टीकापुरवासीले महसुस गरेको बताएका छन् ।

साढे तीन महिनामा मदिरा सेवन मुद्धामा साढे आठ सयलाई पक्राउ गरेको भाट पनि स्वीकार्छन । तर, एक रात हिरासतमा राखेर भोलिपल्ट कागज गरेर छाडदा लिएको जनही एक हजार रुपैयाँको हिसाब करिब साढे आठ लाख रुपैयाँ हुन आउँछ ।

उक्त रकम अनिवार्य राजस्वमा दाखिला हुने रकम हो वा डिएसपी भाटको खल्तीमा जाने रकम हो भनेर पारदर्शीताको प्रश्न पनि उठेको छ ।

सामाजिक सञ्जालमा आफुमाथि गरिएका आलोचनात्मक टिप्पणीका विरुद्ध धम्कीपूर्ण प्रतिउत्तर दिन हतारिने डिएसपी भाटका स्टाटस र कमेन्टहरूको पनि प्रहरी संगठनभित्र व्यापक चर्चा भएको छ । साढे तीन महिनाको टीकापुर बसाईमा सामाजिक सञ्जालमा भाटका पक्ष विपक्षमा भएका वहसहरू बारे पनि प्रहरी प्रधान कार्यालयले सुक्ष्म अध्ययन गरेको बताएको छ ।

एउटा सार्वजनिक पद धारण गरेको प्रहरी अधिकृतबारे सामाजिक सञ्जालमा किन धेरै टिप्पणी भयो भन्ने विषयमा प्रहरी हेडक्वार्टरले अध्ययन गरिरहेकै बेला सात सुरक्षाकर्मी र एक नाबालक गरी आठ जनाको हत्या मुद्धामा आममाफी पाएर टीकापुर फर्केका रेशम चौधरीलाई डिएसपी भाटले दोसल्ला ओढाएर सम्मान र स्वागत गरेको भिडियोसमेत अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

विभिन्न आइडीमार्फत टिकटकमा पोष्ट उक्त भिडियोमा हजारौँ सर्वसाधारणले आलोचनात्मक कमेन्ट गरेका छन् । ती कमेन्टमाथि भाटले पनि असभ्य तरिकाले प्रतिउत्तर फर्काएको देख्न सकिन्छ ।

उक्त भिडियो रेकर्ड गरेका पत्रकार जीवन चौधरीलाई भाटले कार्यकक्ष बोलाएर हप्कीदप्की गरेका छन् । पत्रकारलाई हप्कीदप्की गरेको भिडियो पनि सार्वजनिक भएपछि भाट झनै तनावमा परेका छन । दृष्टि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।