
(ABC-Sanchar)
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि कोशी प्रदेशका भू-भागहरूमा तापक्रम विस्तारै घट्दै जाने जनाएको छ । विभागले कोशी प्रदेशको भू-भागमा बादल बनिने र क्षणिक वर्षाको सम्भावना रहेको जनाएको हो ।
बदलीको अवस्थामा तापक्रम घट्ने गर्छ । आकाशमा बादल देखिने अवस्थालाई बदली भनिन्छ । पूर्ण बदलीमा आकाशलाई बादलले पूर्ण रूपमा ढाकेको देखिन्छ ।
पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शनिबार अपराह्नदेखि विस्तारै बदलीको अवस्था हुने छ । ‘कोशी प्रदेशमा हल्काफुल्का वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘पहाडी भूभागमा दिउँसो बादल लाग्ने र क्षणिक वर्षा हुने सम्भावना छ ।’
शनिबार रातिदेखि कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा हुने जनाउँदै विभागले कोशी प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।