२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्यु पछि तनावग्रस्त

Logo
प्रकाशित शुक्रबार, आषाढ २९, २०८०

(ABC-Sanchar)

दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ।

बिहीबार साँझसम्म पनि मृत्यु भएका बालक आक्रोश नेपालीका आफन्तले अस्पतालमा नाराबाजी गरिरहेका छन्।

अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

बुधबार दिउँसो ४ बजेतिर घोराही उपमहानगरपालिका- ३ बर्गद्दीका ११ वर्षीय आक्रोश नेपालीको टाउकाको एमआरआई गर्न लगिएको थियो।

त्यस क्रममा एउटा सानो आकारको अक्सिजन सिलिन्डर पनि लगियो। स्रोतका अनुसार त्यो सिलिन्डर लगेर सुरूमा एमआरआई कक्षको ढोकाबाहिरै राखिएको थियो।

त्यही क्रममा कसैको गल्तीका कारण एमआरआई कक्षको ढोका खोलियो। ढोका खोल्नासाथ एमआरआई मेसिनले त्यो ग्यास सिलिन्डर तीव्र गतिले आफूतिर तान्यो। सिलिन्डर गएर एमआरआई मेसिनको भित्तामा ठूलो आवाजका साथ ठोक्कियो।

एमाआरआई मेसिनको चुम्बकले सिलिन्डर यति जोड्ले तान्यो कि त्यसको आवाज अस्पताल बाहिरसम्मै सुनियो।

अस्पतालभित्र के बिस्फोट भयो? भनेर अस्पताल परिसरमा रहेका सर्वसाधारण, प्रतिष्ठान प्रशासन, डाक्टर र नर्सहरूबीच खैलाबैला भयो।

चर्को आवाजले मेसिनमा रहेका आक्रोश अचेत बने। त्यसपछि उनी होसमा फर्किन नसकेको र उनको मृत्यु भएको आफन्तको दाबी छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतम घटना हुँदा अस्पताल परिसरमै थिए।

रोल्पाका एक जनप्रतिनिधिको मृत्यु भएपछि उत्पन्न विवाद समाधानको छलफल भइरहेका बेला ठूलो आवाज आएको उनले बताए।

सबै जना जम्मा भएर हेर्दा एमआरआई मेसिनले अक्सिजन सिलिन्डर तानेको र त्यो त्यही चप्किएको अवस्था थियो।

अहिलेसम्म पनि त्यो मेसिन त्यसैमा चप्किरहेकै अवस्थामा छ। जानकारहरूका अनुसार एमआरआई मेसिन चौबीसै घन्टा अन राख्नुपर्ने मेसिन हो। त्यो बन्द गर्दा ठूलो खर्च लाग्ने गर्छ। त्यसैले मेसिन बन्द गरिएको छैन। मेसिन चालु अवस्थामै छ र अक्सिजन सिलिन्डर पनि त्यही चप्किएकै अवस्थामा छ।

बालकका अभिभावक तथा आफन्तले भने चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन्।

‘तनाव भएपछि प्रहरी पठाउनु परेको हो,’ डिएसपी गौतमले भने, ‘भित्र प्रतिष्ठान प्रशासन र बालकका अभिभावकका बीचमा भित्र वार्ता पनि भइरहेको छ।’

घटनाका सम्बन्धमा प्रतिक्रिया लिन पटक-पटक फोन गर्दा पनि प्रतिष्ठानका उपकुलपति डाक्टर विकास लामिछाने र प्रवक्ता डाक्टर झन्कार लामिछाने सम्पर्कमा आएनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।