२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

साउन १५ गते खीर खाने दिन नेपाली समाजमा खीर खाएर मनाइँदै

Logo
प्रकाशित सोमबार, साउन १५, २०८०


(ABC-Sanchar)
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन्। तर यसको कुनै शास्त्रीय वचन भने छैन।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ। साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट […]

  (ABC-Sanchar) काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ । पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ । यद्यपी, अहिले नै खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट […]