२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सङ्खुवासभामा प्रहरीको कुटपिटबाट २ कैदीको मृत्यु १० प्रहरीसहित १५ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २६, २०८०

 

ABC (क्राईमबिट)

सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।

कारागारमा सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र ककनी–७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले पुष्टि गरे ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहान १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको बताइएको छ । कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।

फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताए । पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक गोदारले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित पाँच कैदीबन्दी संलग्न भएको देखिएको छ । नियन्त्रणमा लिएका १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० प्रहरी परिचालन गरिएका थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उक्त घटना कारागारको ‘ए ब्लक’ मा भएको हो । सो ब्लकमा ६६ कैदीबन्दी रहेका थिए ।

घटनापछि जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालयका नायव सुब्बा तारणी घिमिरे सदस्य रहेका छन् ।

त्यस्तै गरी कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । कोशी प्रदेश प्रहरीको छानबिन समितिले बिहीबारदेखि काम सुरू गरिसकेको छ ।

गृह मन्त्रालयको छानबिन समितिको अनुसन्धान सुरू
जिल्ला कारागारमा दुई कैदीको शङ्कास्पद मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समते छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका नायब उपरीक्षक कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । गृह मन्त्रालयको छानबिन टोली आज सङ्खुवासभा पुगेको हो । टोलीले आजदेखि अनुसन्धान सुरू गरेको छ । अहिले सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ कैदीबन्दी छन् । -रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।