
(ABC-Sanchar)
दाङ । तुलसीपुर उपमहानगरपालिकाले इन्धन लैजाने पत्रकारहरुको नामावली सार्वजनिक गरेको छ । इन्धनको दुरुपयोग भएको समाचार प्रकाशित भएपछि उपमहानगरको चौतर्फी आलोचना भएको थियो । इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको र उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित पत्रकारलाई इन्धन दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पाइएको थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखालाई उपमहानगरपालिकाले उपलव्ध गराएको विवरण अनुसार उपमहानगरपालिकाबाट विभिन्न मितिमा पत्रकारहरुका संगठन र पत्रकार गरी ३५ जनाले इन्धनको कुपन लगेको भेटिएको हो ।
कुपन लैजानेमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलदेखि एमाले र माओवादी निकट पत्रकार संगठनहरु छन् ।
उनीहरुले १ सय लिटर देखि १० लिटरसम्मका तेलका कुपनहरू उपमहानगरपालिकाबाट लगेको सार्वजनिक भएको विवरणमा उल्लेख छ ।
पत्रकारहरुले २०७८ सालमा विभिन्न मितिमा गरी १ हजार २१ लिटर तेलको कुपन लिएको देखिन्छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले १८ पुस २०७९ मा उपमहानगरवाट २५ लिटर तेलको कुपन लिएको विवरणमा देखिन्छ ।
सवैभन्दा वढी तेल प्रेस चौतारी नेपालले संस्थागत रुपमा लगेको देखिन्छ भने मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले दुइपटकसम्म लिएको देखिन्छ । 
विभिन्न सरकारी निकायहरूले आफ्ना कर्मचारी र जनप्रतिनिधिहरूको लागि इन्धनको कुपन उपलव्ध गराउने गरेका छन् । पत्रकारहरूले आफ्नो पहुँचको आधारमा कुपन लिएका हुन् ।