०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपामा प्याजको अभाव कालोबजारी सुरु

Logo
प्रकाशित बुधबार, भाद्र ०६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली बजारमा प्याजको अभाव, कालोबजारी गर्ने १७ जना कारबाहीमा
भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

‘दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई दिनदेखि ठप्प छ । गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दात सकिएपछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन,’ उनले भने । यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो ।

बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ । ‘भएको मौज्दात सकियो । व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छ,’ उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो ।’

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ । पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।

कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए ।

‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ । आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ,’ उनले भने, ‘अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ । व्यापारीले प्रतिकिलो ४८ रूपैयाँमा किनेको प्याज ६८-७० रूपैयाँसम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ ।’

यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाख रूपैयाँसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए । विभागले बजार अनुगमनका क्रममा सोमबार तीन व्यापारीलाई जनही २० हजार रूपैयाँ, दुई व्यापारीलाई जनही ५० हजार रूपैयाँका दरले जरिवाना गरेको थियो ।

चार आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो । त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएकोे थियो ।

भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो ।

भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो ६० रूपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रूपैयाँसम्म बढेर ८० रूपैयाँ पुगेको थियो ।

तर, विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रूपैयाँसम्मले घटे पनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन । भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ ।

यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!