०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

इन्डियन खाने तेलका कारण बजार भाउ न पाउदा नेपाली तेलका उद्योगहरु संकटमा

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०


(ABC–Sanchar)
बाँके । भारतीय भन्सार महशुल सीमा शुल्क नीतिको भरमा लगानी बढाएका स्वदेशका खानेतेल उद्योग अहिले संकटमा परेका छन् । एक समय भारत निकासी गरेर राम्रै कमाइ गरेका स्वदेशका करीब २ दर्जन खानेतेल उद्योग अहिले नाफा कमाउन होइन, घाटा कम गर्न जसोतसो सञ्चालनमा छन् ।

भारतले आफ्नो देशका तेलहन उत्पादक र किसानलाई संरक्षण गर्न आयातमा उच्च दरको शुल्क लगाउँदा त्यसको फाइदा उठाउन धमाधम लगानी गरेका उद्योगी अहिले समस्यामा परेका हुन् । भारतले अप्रशोधित खानेतल आयातमा ४० प्रतिशतसम्म शुल्क लगाउँदा नेपालबाट ठूलो परिमाणमा तेल निकासी भएको थियो । त्यसबेला तेलको भाउ निकै उकालो लागेको थियो ।

नेपालका उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । नेपालमा कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) तिर्नुपर्छ । त्यो पनि तेल निकासी गरेपछि उद्योगीले फिर्ता पाउँछन् । भारतमा अन्य देशबाट तेल आयातमा ४० प्रतिशत शुल्क तोकिए पनि नेपालबाट साफ्टा सुविधामा शून्यदेखि ५ प्रतिशतसम्म शुल्क तिरेर निकासी हुने गरेको थियो । कोरोना महामारी र त्यसैबीच शुरू भएको रूस–युक्रेन युद्धले खाद्यान्न आपूर्तिमा देखिएको अवरोधपछि नेपाली तेल उद्योगका संकटका दिन शुरू भएको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानको भोगाइ छ ।

एक समय भारतीय तेल उत्पादक र त्यहाँका किसानको हित संरक्षणका लागि आयातमा उच्च दरको शुल्क लगाएको भारतले पछिल्लो समय मूल्य नियन्त्रणका लागि अप्रशोधित तेल आयातमा शून्य शुल्कको नीति अपनाएको छ ।

भारतले वर्ष २०२२/२३ र २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर पूर्णरूपमा हटाएको छ । यी दुई आर्थिक वर्षमा भारतमा ८० लाख टन अर्धप्रशोधित तेल आयात शुल्क नतिरी भित्रिनेछ । यो परिमाणबाहेकको आयातमा २ दशमलव ५ प्रतिशत शुल्क लिने नीति छ । अहिले स्वदेशी उद्योगीले लागतभन्दा पनि कम मूल्यमा तेल निकासी गरिरहेका छन् । उत्पादन बन्द गर्दा झन् धेरै नोक्सानी हुने भएपछि कम मूल्यमा निकासी गरेरै भए पनि घाटा कम गर्ने उपाय अपनाउनुपरेको एक उद्योगीले बताए । अहिले निकासी निकै घटेको छ । स्वदशी बजारमा पनि खानेतेलको भाउ घटेको छ ।

नेपालमा अहिले २२ ओटा उद्योगले तेल उत्पादन गर्छन् । तीमध्ये वीरगञ्ज क्षेत्रमा १४ र अन्य विराटनगर र भैरहवामा छन् । स्वदेशी उद्योगको वार्षिक उत्पादन क्षमता २५ लाख टन पुगिसकेको छ । स्वदेशी बजारको खपत भने ५ लाख टनमात्रै रहेको उद्योगी चाचान बताउँछन् ।

भारत निर्यातलाई लक्षित गरी नयाँ उद्योग आएका थिए । पुराना अधिकांशले लगानी थपेका थिए । निकासी प्रभावित भएपछि पाइप लाइनमा रहेका पाँचमध्ये केही उद्योग पछि हटेका छन् । अहिले सञ्चालनमा रहेका सबै उद्योगले उत्पादन खुम्च्याएका छन् । यस्ता उद्योगले अहिले क्षमताको १० देखि १५ प्रतिशतमात्र उत्पादन गरिरहेको उद्योगीहरू बताउँछन् ।

भारतले तेल आयातमा शून्य शुल्कको नीति लिएपछि नेपालबाट निकासी ओरालो लागेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । बाहिरबाट कच्चा पदार्थ ल्याएर निकासी गर्दा अब फाइदा नहुने उनी बताउँछन् । ‘ढुवानी र भन्सार महशुलका कारण यो सम्भव छैन । स्वदेशमै कच्चा पदार्थ उत्पादनलाई प्रोत्साहन गर्ने हो भने भविष्यमा सम्भव हुन पनि सक्छ । यसका लागि सरकारले भटमास, सूर्यमुखी र तोरीलायत तेहहन खेतीमा किसानलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ,’ उद्योगी रुंगटाको सुझाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!